ईसाई धर्म
पछाडि

दानिएल 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दारालाई सम्पूर्ण राज्यभरि शासन गर्नलाई एक सय बीस जना राज्यपालहरूलाई नियुक्त गर्न इच्छा लाग्यो।

2ती राज्यपालहरूमाथि तीन जना प्रशासकहरू थिए, र तीमध्ये दानिएलचाहिँ एक जना थिए। राज्यपालहरूले आफ्ना कामको उत्तरदायित्व तिनीहरूलाई दिनुपर्थ्यो, ताकि राजाको काममा कुनै हानि उठाउन नपरोस्।

3दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे।

4यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्‍टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्‍वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्‍टता थियो, न त लापर्बाही थियो।

5आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।”

6यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्!

7राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्।

8अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।”

9यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले।

10अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीनपल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे।

11तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए।

12यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”

13तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीनपल्ट प्रार्थना गर्छ।”

14जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे।

15तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।”

16यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।”

17अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्।

18त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।

19बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए।

20जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?”

21दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्!

22मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।”

23राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए।

24राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए।

25तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्‍नति प्रशस्त होस्!

26“म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्। “किनकि उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ, र उहाँ सदासर्वदै रहनुहुन्छ; उहाँको राज्य नष्‍ट हुनेछैन, उहाँको राज्य कहिल्यै समाप्‍त हुनेछैन।

27उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ; उहाँले आकाशमा र पृथ्वीमा, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।”

28यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्‍नति भयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath