ईसाई धर्म
पछाडि

दानिएल 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा नबूकदनेसरबाट, जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्‍ने सबै मानिसहरू: तिमीहरूको उन्‍नति प्रशस्त होस्!

2सर्वोच्‍च परमेश्‍वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्‌भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।

3उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्‌भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।

4म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्‍टि र समृद्धिमा बसिरहेको थिएँ।

5मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए।

6यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ।

7जब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू मकहाँ आए, तब मैले तिनीहरूलाई सपना बताएँ, तर तिनीहरू कसैले पनि मेरो सपनाको अर्थ बताउन सकेनन्।

8त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।)

9मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु।

10म आफ्नो पलङमा ढल्किरहेको बेलामा मैले देखेका दर्शनहरू यही हुन्: मैले हेरेँ, र त्यहाँ मेरो सामु देशको मध्य भागमा एउटा रूख खडा थियो। त्यो रूख अत्यन्तै अग्लो थियो।

11त्यो रूख ठूलो र बलियो भएर बढ्यो; अनि त्यसको टुप्पोले आकाश छोयो; त्यो रूख पृथ्वीका अन्तिम छेउबाट पनि देखिन्थ्यो।

12रूखका पातहरू सुन्दर थिए, र त्यसका फलहरू प्रशस्त थिए; अनि त्यसमा सबैलाई पुग्ने प्रशस्त भोजन थियो। त्यसमुनि जङ्गली पशुहरूले आश्रय पाउँथे, र त्यसका हाँगाहरूमा आकाशका चराहरू बस्थे; त्यसबाट हरेक जीवित प्राणीहरूले खाना पाउँथे।

13“म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।

14तिनले चर्को सोरमा कराएर भने: ‘यस रूखलाई काटेर ढालिदे, र यसका हाँगाहरूलाई छाँटिदे; यसका पातहरू झारिदे र यसका फलहरू चारैतिर छरपस्ट पारिदे। यस रूखबाट पशुहरू र यसका हाँगाहरूबाट चराचुरुङ्गीहरू भागिजाऊन्।

15तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्।

16यसको निम्ति सात काल नबितेसम्म, यसको मन मानिसको मनबाट बदलिएर यसलाई पशुको मन दिइओस्।

17“ ‘यो निर्णय एक स्वर्गदूतद्वारा सूचित गरिएको हो, र पवित्र जनद्वारा यस फैसलाको बारेमा घोषणा गरिएको हो: यस उद्देश्यले कि जीवितहरूले यो जानून्, कि सर्वोच्‍चचाहिँ मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ। अनि आफूले चाहेको जसकसैलाई पनि ती दिन सक्नुहुन्छ, र तिनीहरूमाथि सबैभन्दा नम्र मानिसलाई राख्नुहुन्छ।’

18“म, राजा नबूकदनेसरले यही सपना देखेको हुँ। अब, हे बेलतसजर, यसको अर्थ के हो, सो मलाई बताइदेऊ; किनकि मेरा राज्यका कुनै पनि बुद्धिमान् मानिसले मेरो निम्ति सपनाको अर्थ खोलिदिन सक्दैनन्। तर तिमीले चाहिँ अर्थ खोल्न सक्छौ; किनकि तिमीभित्र पवित्र देवताहरूको आत्मा छ।”

19तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो!

20हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो;

21जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो।

22हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।”

23हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।”

24हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो:

25हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्।

26रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ।

27यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ।

28राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए।

29बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए,

30तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्‍वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?”

31यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु।

32तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्‍नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।”

33नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे।

34त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ। उहाँको राज्य अनन्तको राज्य हो; उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ।

35पृथ्वीका सबै मानिसहरू उहाँको सामु तुच्छ गनिन्छन्। स्वर्गका स्वर्गदूतहरूसँग र पृथ्वीका मानिसहरूसँग उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ। उहाँका हात कसैले पनि रोक्न सक्दैन, न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, “तपाईंले के गर्नुभएको?”

36मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ।

37अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath