ईसाई धर्म
पछाडि

दानिएल 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्।

2यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए;

3अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।”

4तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।”

5राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्‍चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्‍न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्।

6तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”

7तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।”

8तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ।

9यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्‍ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्‍नेछु।”

10ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्‍नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्।

11राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।”

12यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए।

13यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए।

14जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे।

15तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।

16त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्।

17तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।

18तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्‍वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्।

19रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,

20र भने: “परमेश्‍वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; बुद्धि र शक्ति उहाँकै हुन्।

21उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्‌हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ।

22उहाँले गहिरा र गुप्‍तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्‍नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।

23हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।”

24त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।”

25अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”

26राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्‍न सक्छौ?”

27दानिएलले जवाफ दिए, “कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन;

28तर स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्‍ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्:

29“हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।

30परमेश्‍वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्‍नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ।

31“हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।

32त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,

33त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए।

34तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।

35त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्‍न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो।

36“सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ।

37हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्‍वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ।

38उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।

39“तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ।

40अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ।

41तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ।

42ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ।

43अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।

44“ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।

45चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। “महान् परमेश्‍वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।”

46त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए।

47राजाले दानिएललाई भने, “निश्‍चय नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।”

48त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।

49त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath