प्रेरितहरू 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो।
2एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए।
3भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।
4त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ।
5अनि हामी किलिकिया र पामफिलियापारि खुल्ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ।
6त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।
7धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्लोपट्टि हुँदै गयौँ।
8बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ।
9धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,
10“हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”
11तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्लाहमा काम गरे।
12त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्चिम र उत्तर-पश्चिम दुवैतिर फर्केको थियो।
13दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले।
14तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।
15त्यस आँधीको चपेटामा जहाज पर्यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ।
16कौडा भन्ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ।
17मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्ने बलौटे धापमा भासिएला भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए।
18भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे।
19तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए।
20जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्यो, तब हामीले बाँचौँला भन्ने सबै आशा नै त्यागिदियौँ।
21मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्लाहलाई तपाईंहरूले मान्नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।
22तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्ट हुनेछ।
23किनकि म जुन परमेश्वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए,
24अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’
25त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ।
26तैपनि हामीचाहिँ कुनै टापुमा बजारिनै पर्छ।”
27चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए।
28त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।
29हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।
30जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले।
31त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।”
32यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए।
33झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन।
34अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”
35यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।
36यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले।
37हामी सबै मिलाएर त्यस जहाजमा दुई सय छयहत्तर जना थियौँ।
38तिनीहरू सबैले यथेष्ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे।
39जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।
40तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए।
41तर बालुवाको थुप्रोमा जहाज ठोक्किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्लो भाग समुद्रका छालहरूका धक्काले टुक्रिन थाल्यो।
42कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर भाग्लान् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए।
43तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्ने आदेश दिए।
44अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath