ईसाई धर्म
पछाडि

प्रेरितहरू 23

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”

2यो कुरा सुन्‍नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।

3अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्‍वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्‍लङ्घन गर्दै हुनुहुन्छ।”

4यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्‍वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?”

5पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”

6जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”

7जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो।

8सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।

9त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”

10तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए।

11भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”

12भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।

13यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।

14तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ।

15त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।”

16जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।

17अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्‍च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्‍नुपर्ने केही कुरा छ।”

18अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। यसकारण उनले तिनलाई सेनापतिकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए; किनकि हजुरलाई भन्‍नैपर्ने केही कुरा योसँग छ।”

19त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरा के हो?”

20युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।

21तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”

22सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।”

23त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्‍तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख।

24पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।”

25अनि यस किसिमको पत्र तिनले लेखे:

26सम्माननीय राज्यपाल फेलिक्सलाई, क्लौडियस लुसियसको अभिवादन!

27यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।

28तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ।

29मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।

30जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।

31त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए।

32भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।

33कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।

34पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्‍ने थाहा पाए,

35र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath