ईसाई धर्म
पछाडि

प्रेरितहरू 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए।

2मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए।

3त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे।

4उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए।

5ती मानिसहरू हामीभन्दा अगि गएर त्रोआसमा हामीलाई पर्खिबसे।

6तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ।

7हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे।

8हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।

9त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए।

10तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।”

11त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए।

12ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए।

13जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए।

14जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ।

15भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्‍यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ।

16एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे।

17मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए।

18तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ।

19यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ।

20तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ।

21यहूदीहरू र ग्रीकहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।

22“अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो।

23तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ।

24तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।

25“म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।

26त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु।

27किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ।

28आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ।

29मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्।

30तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्।

31त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ।

32“अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ।

33मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ।

34तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु।

35मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्‍नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ”

36यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे।

37उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए।

38तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath