ईसाई धर्म
पछाडि

प्रेरितहरू 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।

2पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।”

3तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।”

4तब पावलले भने, “यूहन्‍नाको बप्‍तिस्मा पश्‍चात्ताप मात्रको बप्‍तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्‍वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”

5जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्‍तिस्मा लिए।

6जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे।

7त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए।

8पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।

9तर तीमध्ये कोही हठी भएर विश्‍वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्‍लमखुल्‍ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्‍नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले।

10यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।

11परमेश्‍वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो;

12यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्‍ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।

13घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्‍ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्‍ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।”

14स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए।

15एक दिन एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?”

16त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।

17जब एफिससमा बस्‍ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो।

18विश्‍वास गर्ने धेरै जनाले खुल्‍लमखुल्‍ला तिनीहरूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे।

19जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्‍का थियो।

20यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो।

21यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”

22आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।

23त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्‍चियो।

24डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो।

25ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।

26अहिले तपाईंहरूले देख्नुभयो र सुन्‍नुभयो, कसरी पावल भन्‍ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्‍वरहरूचाहिँ ईश्‍वरहरू नै होइनन् भन्दै छ।

27यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्‍ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्‍वरीय गौरव नाश हुनेछ।”

28जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”

29चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्‍चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।

30भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।

31त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए।

32त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।

33भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे।

34तर तिनीहरूले उनी यहूदी हुन् भन्‍ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।”

35अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र?

36त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।

37तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्।

38त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।

39यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ।

40हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्‍टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।”

41यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath