ईसाई धर्म
पछाडि

प्रेरितहरू 16

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्‍वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए।

2लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे।

3पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो।

4तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए।

5यसरी मण्डलीहरू विश्‍वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो।

6एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए।

7जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।

8त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे।

9रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।”

10पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ।

11त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ।

12त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ।

13शब्बाथको दिन सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ।

14अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो।

15जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।

16एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्‍ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी।

17त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।”

18धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्‍क गरायो; यसैले फनक्‍क फर्केर तिनले त्यस दुष्‍ट आत्मालाई भने, “येशू ख्रीष्‍टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्‍ट आत्माले त्यसलाई छोडिदियो।

19जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे।

20अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्‍चाउँदै छन्।

21यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।”

22तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए।

23तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए।

24यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके।

25मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए।

26अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।

27झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए।

28तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”

29तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे।

30त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?”

31तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।”

32त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए।

33रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्‍तिस्मा लिए।

34झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्‍वरमा विश्‍वास गरेका थिए।

35उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”

36त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!”

37तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्‍लमखुल्‍ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”

38अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्‍ने सुनेर तिनीहरू तर्सिए।

39तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे।

40पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath