ईसाई धर्म
पछाडि

प्रेरितहरू 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।

2तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।

3एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।

4भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।

5अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।

6तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”

7जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।

8आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।

9त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।

10उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए।

11अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे।

12यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।

13त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।”

14तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”

15त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।”

16अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो।

17त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे।

18पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे।

19पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्।

20त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”

21तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”

22ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।”

23त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। पत्रुस कर्नेलियसको घरमा अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।

24भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।

25जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे।

26तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”

27उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।

28तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ।

29त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”

30कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने,

31‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ।

32त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’

33त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”

34अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

35तर हरेक मानिसमा उहाँको भय मान्‍ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ।

36हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ।

37यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ।

38पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ।

39“यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे।

40तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।

41सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौँ।

42उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो।

43उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”

44जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो।

45गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू अचम्मित भए।

46किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने,

47“हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?”

48त्यसकारण तिनले येशू ख्रीष्‍टको नाममा तिनीहरूलाई बप्‍तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath