ईसाई धर्म
पछाडि

2 शमूएल 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब राजा आफ्नो महलमा बस्‍न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो;

2तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्‍वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।”

3नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।”

4तर त्यस रात याहवेहको वचन नातानकहाँ यसो भनेर आयो:

5“जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र?

6मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु।

7म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’

8“यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।

9तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु।

10अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए।

11मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ:

12जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु।

13त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।

14म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्‍यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु।

15तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ।

16तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”

17नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।

18त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे; र तिनले भने: “हे सर्वशक्तिमान् याहवेह, म को हुँ, र मेरो परिवार के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?

19अनि यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र?

20“दावीदले तपाईंलाई अरू बढी के भन्‍न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्‍नुहुन्छ।

21तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्‍न दिनुभएको छ।

22“हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्‍वर छैन।

23तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरू र तिनीहरूका देवी-देवताहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।

24तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नो निजी प्रजाको रूपमा स्थापित गर्नुभएको छ। हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।

25“यसकारण अब हे याहवेह परमेश्‍वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्!

26ताकि तपाईंको नाम सदा महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह नै इस्राएलमाथि परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।”

27हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई यो प्रकट गर्नुभएको छ, “म तेरा निम्ति एउटा घराना निर्माण गर्नेछु।” यसैकारण तपाईंको सेवकले यो प्रार्थना चढाउने साहस पाएको छ।

28हे सर्वशक्तिमान् याहवेह, तपाईं परमेश्‍वर हुनुहुन्छ! तपाईंका वचनहरू भरोसायोग्य छन्। तपाईंले आफ्नो सेवकको निम्ति यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।

29“अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्‍टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्‌ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath