ईसाई धर्म
पछाडि

2 शमूएल 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्‍नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”

2यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।

3दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे।

4तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे। जब दावीदलाई शाऊललाई गाड्ने मानिसहरू याबेश-गिलादका रहेछन् भनी भनियो,

5तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्।

6याहवेहले तिमीहरूमाथि दया र विश्‍वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु।

7अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।”

8यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए।

9अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए।

10शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्‍वासयोग्य भइरहे।

11दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे।

12नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए।

13सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।

14तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।”

15यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए।

16तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्‍जुरीम भनिन्छ।

17त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए।

18सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए।

19तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे।

20अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”

21तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।

22फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?”

23तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए।

24तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।

25तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए।

26अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्‍ने?”

27योआबले जवाफ दिए, “जीवित परमेश्‍वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।”

28यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।

29त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे।

30तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्‍नाइस जना मानिसहरू हराएका थिए।

31तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।

32तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath