2 शमूएल 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।”
2यसकारण दावीदले योआब र तिनका अधीनमा भएका सेनाहरूका सेनापतिहरूलाई भने, “दानदेखि बेर्शेबासम्म इस्राएलका कुलहरूका बीचमा गएर लडाकु मानिसहरूको संख्या लिनू, ताकि सेनाहरू कति छन्, सो म जान्न सकूँ।”
3तर योआबले राजालाई जवाफ दिए, “याहवेह तपाईंका परमेश्वरले तपाईंका सेनाहरूलाई सय गुणा बढाइदेऊन्। अनि मेरा मालिक महाराजाका आँखाले ती सेनाहरूलाई देखून्। तर मेरा मालिक महाराजाले किन जनगणना गर्न चाहनुहुन्छ?”
4तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए।
5तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे।
6तिनीहरू गिलादमा र ताहतीम-होदशीको इलाकामा गए। अनि त्यहाँबाट दान-यान र सीदोन वरपरसम्म गए।
7तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए।
8तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए।
9योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए।
10आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।”
11भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो:
12“जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”
13यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।”
14दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”
15यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे।
16जब स्वर्गदूतले यरूशलेमलाई नष्ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।
17जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!”
18त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!”
19यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए।
20जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे।
21अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?” दावीदले जवाफ दिए, “तिम्रो खला किन्न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।”
22अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्।
23हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्वरले तपाईंको बलिदान ग्रहण गरून्!”
24तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने।
25दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath