2 शमूएल 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यहाँ शेबा नाम भएको एउटा बदमास मानिस थियो, जो बेन्यामीनी बिकरीको छोरा थियो। त्यसले तुरही फुक्यो, र जोडले कराएर भन्यो, “दावीदसँग हाम्रो केही भाग छैन, यिशैको छोरासँग हाम्रो कुनै अधिकार छैन! हे इस्राएल, तिमीहरू हरेक आ-आफ्नो छाउनीमा जाऊ!”
2यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे।
3जब दावीद यरूशलेममा आफ्नो राजमहलमा फर्के, तब राजाले राजमहलको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिएर एउटा घरमा नजरबन्दी गरेर राखे। तिनीहरूलाई चाहिने सबै कुरा प्रबन्ध गरिदिए, तर राजाले उनीहरूसँग यौन सम्बन्ध राखेनन्। तिनीहरूको मृत्युसम्म नै तिनीहरूलाई नजरबन्दीमा राखियो। तिनीहरूले विधवा समान जीवन बिताए।
4तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिनभित्र मकहाँ बोलाएर ल्याउनू, र तिमी आफू पनि यहाँ उपस्थित होऊ!”
5तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो।
6दावीदले अबीशैलाई भने, “अब बिकरीको छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा पनि ठूलो हानि गर्नेछ। तिम्रा मालिकका मानिसहरूलाई लिएर त्यसलाई खेद। नत्रता त्यसले आफ्ना निम्ति सुरक्षित सहरहरू भेट्टाउला, र हामीबाट उम्केर जाला।”
7यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के।
8जब तिनीहरू गिबोनको ठूलो चट्टानमा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ सैनिक पोशाक लगाएका थिए। अनि त्यसमाथि कम्मरमा एउटा पटुका बाँधेर त्यसमा म्यानसमेत एउटा तरवार भिरिराखेका थिए। जब तिनी अगि बढे, तब तरवार म्यानबाट झर्यो।
9योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए।
10अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले।
11योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!”
12अमासाचाहिँ बाटोको बीचमा रगतमा भिजेर लडिरहेका थिए। तब त्यस मानिसले सबै सेनाहरू त्यहाँ आएर अडिएका देखे। जब त्यो मानिसले अमासा भएको ठाउँमा जो जति पनि आएर अडिएको देख्यो, त्यसले अमासालाई घिस्याएर खेतमा लग्यो, र त्यसमाथि एउटा लुगा फ्याँकिदियो।
13जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए।
14शेबा इस्राएलका सबै वंशहरूका बीचबाट भएर हाबिल-बेथ-माकामा गए। तिनी बेकेरीहरूका समस्त प्रान्त हुँदैगए। अनि बेकेरीहरू एकसाथ भेला भएर तिनको पछि लागे।
15योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए,
16तब एउटी बुद्धिमानी स्त्रीले सहरबाट कराएर बोलाइन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई यहाँ पठाइदिनुहोस् र म तिनीसँग कुरा गर्न सकूँ।”
17योआब स्त्रीको नजिकै गए, र तिनले सोधिन्, “तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म उही हुँ।” तिनले भनिन्, “तपाईंको सेविकाले के भन्न चाहन्छिन्, त्यो सुन्नुहोस्।” योआबले भने, “हजुर, म सुन्दैछु।”
18स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो।
19हाम्रा सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर हो। तपाईंहरूले इस्राएलमा एउटा महत्वपूर्ण सहरलाई नष्ट गर्न लाग्नुभएको छ। तपाईंहरू किन याहवेहको सम्पत्ति विनाश गर्न चाहनुहुन्छ?”
20योआबले जवाफ दिए, “मबाट यस्तो नहोस्! मबाट नष्ट गर्ने अर्थात् विनाश गर्ने काम नहोस्!
21हाम्रो उद्देश्य त्यो होइन। एफ्राइमको पहाडी मुलुकका बिकरीको छोरा शेबा नाम भएका मानिसले राजाको विरुद्धमा, दावीदको विरुद्धमा आफ्नो हात उठाएको छ। त्यस एउटा मानिसलाई सुम्पिदेऊ, र म सहरबाट हटेर जानेछु।” त्यस स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।”
22तब त्यस स्त्री आफ्नो बुद्धिमानी सल्लाहका साथ सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिकरीको छोरा शेबाको शिर काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले तुरही फुके। अनि सबै मानिसहरू सहरबाट छरिएर आ-आफ्ना घरमा गए। योआब यरूशलेममा राजाकहाँ फर्केर गए।
23योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए;
24अदोनीराम मजदुरहरूका नाइके थिए; अहीलूदको छोरा यहोशापात लेखापाल थिए;
25शेभाचाहिँ सचिव थिए; सादोक र अबीयाथार पुजारी थिए;
26अनि याईरी ईरा पनि दावीदका पुजारी थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath