2 शमूएल 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।”
2यसैले सारा सेनाका निम्ति त्यस दिनको विजय शोकमा परिणत भयो। किनकि त्यस दिन सेनाहरूले यस्तो भनेका सुने, “राजा आफ्नो छोराका निम्ति शोक गरिरहनुभएको छ।”
3त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे।
4राजाले आफ्नो अनुहार ढाकेर चर्को सोरले रुँदै भने, “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!”
5तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ।
6जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई चाहिँ हजुर प्रेम गर्नुहुन्छ। अनि जसले हजुरलाई प्रेम गर्छन्, तिनीहरूलाई चाहिँ घृणा गर्नुहुन्छ। सेनापतिहरू र तिनीहरूका मानिसहरू हजुरका निम्ति केही होइन रहेछन् भनी आज हजुरले स्पष्ट देखाइदिनुभएको छ। मलाई यस्तो लाग्छ, यदि आज अब्शालोम बाँचेका भए, र हामी सबैचाहिँ लडाइँमा मरेका भए हजुरलाई खुशी लाग्नेथियो होला।
7यसकारण अब बाहिर जानुहोस्, र आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। याहवेहलाई साक्षी राखेर भन्दछु, यदि तपाईं बाहिर जानुभएन भने आज राति एक जना मानिस पनि हजुरसँग हुनेछैन। योचाहिँ हजुरको बाल्यकालदेखि अहिलेसम्म हजुरमाथि आइपरेका सबै विपत्तिहरूभन्दा खराब विपत्ति हुनेछ।”
8तब राजा उठे, र सहरको मूलढोकामा गएर बसे। जब मानिसहरूलाई सुनाइयो, “राजा सहरको मूलढोकामा बसिरहनुभएको छ,” तब तिनीहरू सबै तिनको सामु आए। त्यस बेलासम्म अब्शालोमलाई समर्थन गरेका इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गइसकेका थिए।
9इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ।
10अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?”
11तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ?
12तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’
13अनि अमासालाई भन्नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ”
14तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।”
15तब राजा यर्दन नदीसम्मै फर्केर गए। यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए।
16बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए।
17तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए।
18तिनीहरू राजाका घरानालाई नदी पार गराउन र तिनले इच्छा गरेको पूरा गर्नलाई भनी नदीको किनार तरेर पारिपट्टि गए। जब गेराका छोरा शिमीले यर्दन पार गरे, तब तिनी राजाको सामु घोप्टो परे।
19तब तिनले राजालाई भने, “मेरा मालिक महाराजा, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको सेवकले गरेको दोष नसम्झून्! हजुरले त्यस कुरालाई आफ्नो हृदयमै नराखून्।
20किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।”
21तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।”
22दावीदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, यस विषयमा तिमीहरू किन यस्तो चासो राख्छौ? आजको दिन किन तिमीहरू मेरा विरोधीहरू बन्छौ? के आजको दिन इस्राएलमा कसैलाई पनि मृत्युदण्ड दिनु उचित हुन्छ र? के आज म इस्राएलका राजा हुँ भनी म जान्दिनँ र?”
23यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे।
24शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए।
25मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?”
26तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो।
27त्यसले मेरा मालिक महाराजाको नजरमा हजुरको सेवकलाई दोषी ठहराएको छ। मेरा महाराजा हजुर त परमेश्वरका स्वर्गदूतजस्तै हुनुहुन्छ। यसकारण हजुरलाई जे इच्छा लाग्छ, त्यही गर्नुहोस्।
28मेरा बाजेका सबै सन्तानहरू मेरा मालिक महाराजाबाट मारिनबाहेक अरू केही कुराका निम्ति योग्यका छैनौँ। तर हजुरले आफ्ना सेवकलाई हजुरसँगै बसेर खाने ठाउँ दिनुभयो। यसकारण राजासँग अझ धेरै बिन्ती गर्ने मसँग के अधिकार छ र?”
29राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।”
30मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।”
31गिलादी बर्जिल्लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए।
32बर्जिल्लै असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनाइममा बस्दा तिनले नै राजालाई खानेकुराहरू जुटाइदिएका थिए। किनकि तिनी धेरै धनी मानिस थिए।
33राजाले बर्जिल्लैलाई भने, “मसँगै यर्दनपारि जाऊँ, र मसँगै यरूशलेममा बस्नुहोस्। म तपाईंका निम्ति खाने-बस्ने प्रबन्ध गरिदिनेछु।”
34तर बर्जिल्लैले राजालाई जवाफ दिए, “म अरू कति वर्ष बाँचूला र म राजासँग यरूशलेममा जाऊँ?
35अहिले म असी वर्ष पुगिसकेको छु। के म असल र खराब छुट्ट्याउन सक्छु र? के हजुरको सेवकले खाने र पिउने कुरामा रमाउन सक्छु र? के म अझै पुरुष र स्त्रीहरूले गाएको गीत सुन्न सक्छु र? हजुरको सेवक मेरो मालिक राजाका निम्ति किन थप भार बनूँ?
36राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ?
37हजुरको सेवकलाई फर्कन दिनुहोस्। अनि म मेरी आमा र बुबाको चिहानको छेउमा मेरो आफ्नै सहरमा मर्न सकूँ। तर यहाँ हजुरको सेवक किमहाम, मेरा छोरा छ। यो मेरा मालिक महाराजासँग पारि तरेर जाओस्। हजुरलाई जे इच्छा लाग्छ, यसलाई त्यही गर्नुहोस्।”
38राजाले भने, “त्यसो भए किमहाम मसँगै यर्दन नदीपारि जाओस्। अनि तपाईंलाई इच्छा लागेको कुरा म त्यसका निम्ति गरिदिनेछु। अनि मबाट तपाईंले जे इच्छा गर्नुहुन्छ, म त्यो तपाईंका निम्ति गर्नेछु।”
39सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्लैलाई म्वाइँ खाए, र बर्जिल्लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्लै आफ्नो घरमा फर्के।
40जब राजा यर्दन पार भएर गिलगालमा आए। किमहाम पनि तिनीसँगै थिए। यहूदाका सबै सेनाहरू र इस्राएलका आधा सेनाहरूले राजालाईसँगै लगेर गएका थिए।
41तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?”
42यहूदाका सबै मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “राजा हाम्रा नजिकका आफन्त हुनुभएको कारण हामीले यसो गरेका हौँ। तिमीहरू यो विषयमा किन रिसाउँछौ? के हामीले राजाको धनसम्पत्तिबाट केही खाएका छौँ? के हामीले आफ्ना निम्ति केही लगेका छौँ?”
43तब इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्। यसैले दावीदमाथि हाम्रो दाबी तिमीहरूको भन्दा बढी छ। तब तिमीहरू किन हामीलाई तुच्छ व्यवहार गर्छौ? के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा हामीले पहिले गरेका होइनौँ र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् बलियो कुरा गरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath