2 शमूएल 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए।
2राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।”
3तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले तिनलाई भने, “तिनी यरूशलेममै छन्; किनकि तिनले सोचेका छन्, ‘आज इस्राएलका घरानाले मलाई मेरा बाजेको राज्य फर्काइदिनेछन्।’ ”
4तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।” सीबाले भने, “म हजुरलाई दण्डवत् गर्दछु। हे मेरा मालिक महाराजा, मैले हजुरको दृष्टिमा निगाह पाऊँ।”
5जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो।
6दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्न थाल्यो।
7तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्!
8तैँले शाऊलको घरानामा रगत बगाएर तिनको ठाउँमा राज्य गरेको कारण याहवेहले तँलाई बदला लिनुभएको छ। याहवेहले त्यो राज्य, तेरो छोरा अब्शालोमलाई दिनुभएको छ। तँ हत्यारा भएको कारण तेरो सर्वनाश आएको छ!”
9तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।”
10तर राजाले भने, “हे सरूयाहका छोराहरू हो, यदि उसलाई याहवेहले, ‘दावीदलाई सरापोस्’ भनी भन्नुभएको कारण सराप्दै छ भने, ‘तैँले यस्तो किन गरेको’ भनेर कसले त्यसलाई सोध्न सक्छ र?”
11तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्नुभएको छ।
12सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।”
13यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो।
14राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे।
15यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए।
16तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!”
17अब्शालोमले हूशैलाई भने, “के तपाईंले आफ्नो मित्रलाई देखाएको प्रेम यही हो? यदि तपाईं उहाँको मित्र हो भने उहाँसँग किन जानुभएन?”
18हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु।
19फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।”
20तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्लाह दिनुहोस्। अब हामी के गरौँ?”
21तब अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “तपाईंका पिताले महलको हेरचाह गर्न भनी छोडिराख्नुभएका उहाँका उपपत्नीहरूसित सुत्नुहोस्। तब तपाईंले आफ्नो पितालाई अपमानित तुल्याएको कुरा सारा इस्राएलले सुन्नेछन्। अनि तपाईंसित भएका सबै मानिसहरूको विश्वास अझ बलियो हुनेछ।”
22यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते।
23ती दिनहरूमा अहीतोपेलले दिएका सल्लाहचाहिँ परमेश्वरलाई सोधेर लिइएको सल्लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्लाहलाई उच्च सम्मानका साथ कदर गर्थे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath