ईसाई धर्म
पछाडि

2 शमूएल 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे।

2तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।”

3तब अब्शालोमले भन्‍ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।”

4अब्शालोमले अझ थपेर यसो भन्‍ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।”

5साथै, जब कोही पनि व्यक्ति तिनको अगि दण्डवत् गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात बढाएर समाउँथे र तिनलाई म्वाइँ खान्थे।

6अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते।

7चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ।

8तपाईंको सेवक अरामको गेशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ, ‘यदि याहवेहले मलाई यरूशलेममा फर्काएर लैजानुभयो भने म हेब्रोनमा याहवेहको आराधना गर्नेछु।’ ”

9राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए।

10तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्‍नलाई गुप्‍तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यसो भन्‍नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ”

11यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए।

12जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो।

13एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।”

14तब दावीदले यरूशलेममा आफूसित भएका सबै अधिकृतहरूलाई भने, “आओ! हामी भागौँ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन सक्नेछैनौँ। हामी तुरुन्तै भागिहाल्नुपर्छ; नत्रता त्यसले चाँडै आएर हामीलाई भेट्टाउनेछ र हामीमाथि सर्वनाश ल्याउनेछ। अनि सहरलाई पनि तरवारले नष्‍ट पार्नेछ।”

15राजाका अधिकृतहरूले तिनलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा मालिक महाराजाले जे गर्न इच्छा गर्नुहुन्छ, त्यही गर्न राजी छौँ।”

16तब राजा त्यहाँबाट तिनलाई पछ्याउने सारा घरानासहित निस्के। तर तिनले महलको हेरचाह गर्नलाई दश जना उपपत्नीहरूलाई चाहिँ छाडिराखे।

17यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए।

18अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे।

19तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ।

20तिमी हिजो मात्रै आयौ। अनि आज म तिमीलाई हामीसित किन भड्किन बाध्य गरूँ? जबकि म कहाँ गइरहेको छु मलाई थाहा छैन। फर्केर जाऊ, र आफ्ना देशवासीहरूलाई पनि साथमा लैजाऊ। याहवेहले तिमीहरूलाई आफ्नो अचुक प्रेम र विश्‍वासयोग्यता देखाऊन्।”

21तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।”

22तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे।

23जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे।

24सादोक पनि त्यहाँ थिए, र तिनीसित भएका सबै लेवीहरूले परमेश्‍वरको करारको सन्दुक बोकेका थिए। तिनीहरूले परमेश्‍वरको सन्दुक राखे। सारा मानिसहरू सहर छोडेर ननिस्केसम्म अबीयाथारले बलिदानहरू चढाए।

25त्यसपछि राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा फर्काएर लैजाओ। यदि मैले याहवेहको दृष्‍टिमा निगाह पाएछु भने उहाँले मलाई फेरि फर्काइल्याएर सन्दुक र उहाँको वासस्थानलाई देख्ने मौका दिनुहुनेछ।

26तर यदि उहाँले, ‘म तँसित खुशी छैन,’ भन्‍नुभयो भने म तयार छु; उहाँलाई जे उचित लाग्छ, त्यहीअनुसार मलाई गरून्।”

27राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ।

28तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्‍नेछु।”

29यसकारण सादोक र अबीयाथारले परमेश्‍वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे।

30तर दावीदचाहिँ रुँदै-रुँदै जैतुन पर्वतको उकालो चढे। तिनको शिर ढाकिएका थिए, र तिनको खुट्टा खाली थिए। तिनको साथमा भएका सबै मानिसहरूले पनि आफ्ना शिरहरू ढाकेका थिए; अनि तिनीहरू पनि रुँदै-रुँदै उकालो चढिरहेका थिए।

31तब दावीदलाई भनियो, “अब्शालोमसँगको षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल पनि छ।” यसकारण दावीदले प्रार्थना गरे, “हे याहवेह, अहीतोपेलको सल्‍लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”

32जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्‍वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो।

33दावीदले तिनलाई भने, “यदि तिमी मसित गयौ भने तिमी मेरा निम्ति बोझ हुनेछौ।

34तर यदि सहरमा फर्केर अब्शालोमलाई यसरी भन्यो भने, ‘हे राजा, म तपाईंको सेवक हुनेछु; म पहिले तपाईंको पिताको सेवक थिएँ, तर अब म तपाईंको सेवक हुनेछु’, तब तिमीले अहीतोपेलको सल्‍लाहलाई असफल तुल्याएर मलाई सहायता गर्न सक्नेछौ।

35के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्‍नू।

36सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।”

37यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath