2 शमूएल 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1समय बित्दै गएपछि यस्तो भयो: दावीदका छोरा अमनोन तामारसँग प्रेममा फसे। तिनी दावीदका अर्का छोरा अब्शालोमकी सुन्दरी बहिनी थिइन्।
2अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन।
3तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए।
4उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?” अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।”
5योनादाबले भने, “ओछ्यानमा जाऊ, र बिरामी भएको बहाना गर। जब तिम्रा पिता तिमीलाई हेर्न आउनेछन्, तब उहाँलाई यसो भन्नू, ‘मेरी बहिनी तामारले आएर मलाई केही खानेकुरा दिएको चाहन्छु। तिनले मेरो सामु भोजन तयार पारोस्; ताकि म तिनले बनाएको हेर्न सकूँ, र म तिनकै हातबाट त्यो खान पाऊँ।’ ”
6यसकारण अमनोन बिरामी भएको बहाना गरेर सुते। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “म मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी तयार गरेको चाहन्छु, ताकि म तिनकै हातबाट खान पाऊँ!”
7दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।”
8यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्।
9तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्। उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए।
10त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्।
11तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।”
12तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्ट काम नगर्नुहोस्।
13मेरो अवस्था कस्तो होला? मैले मेरो अपमानबाट कसरी छुटकारा पाउने? अनि तपाईंको अवस्था कस्तो होला? तपाईं इस्राएलमा दुष्ट र मूर्ख समान बन्नुहुनेछ। बिन्ती गर्छु, राजासँग कुरा गर्नुहोस्; उहाँले मलाई तपाईंसँग विवाह गर्न रोक्नुहुनेछैन।”
14तर अमनोनले कुरा सुन्न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे।
15त्यसपछि अमनोनले तिनलाई अति घृणा गर्न थाले। वास्तवमा उनले तिनलाई प्रेम गरेको भन्दा बढी घृणा गर्न थाले। अमनोनले तिनलाई भने, “उठ्, र निस्केर गइहाल्!”
16तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।” तर अमनोनले तिनको कुरा सुन्न इन्कार गरे।
17तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।”
18यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे।
19तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्।
20तिनका दाजु अब्शालोमले तिनलाई भने, “के तेरा दाजु अमनोन तँसित थिए? मेरो बहिनी अहिले चुप लाग्; त्यो तेरै दाजु हुन्। यस कुरालाई हृदयमा नराख्।” तब तामार एउटी त्यागिएकी स्त्रीझैँ आफ्नो दाजु अब्शालोमको घरमा बसिन्।
21जब दावीद राजाले यी सबै कुरा सुने, तब तिनी साह्रै रिसाए।
22अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए।
23दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए।
24अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?”
25राजाले जवाफ दिए, “होइन, मेरा छोरा, हामी सबै जाँदैनौँ। हामी तिम्रा निम्ति केवल भारको कारण मात्र बन्नेछौँ।” यद्यपि अब्शालोमले तिनलाई ढिपी गरे; तर पनि तिनी जान मानेनन्, तर तिनले आफ्नो आशिष्चाहिँ तिनलाई दिए।
26तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।” राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?”
27तर अब्शालोमले तिनलाई बिन्ती गरे। यसकारण तिनले ऊसँग अमनोन र राजाका अरू छोराहरूलाई पठाइदिए।
28अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो हुकुम दिए, “ध्यानसित सुन! जब अमनोन मदिराको पूरा नशामा हुनेछ, तब म तिमीहरूलाई भन्नेछु, ‘अमनोनलाई प्रहार गरेर ढालिदेओ,’ अनि त्यसलाई मारिदिनू। तिमीहरू नडराओ! के मैले नै तिमीहरूलाई यो हुकुम दिएको होइनँ र? बलवान् र साहसी बन।”
29यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्चरहरूमा चढेर भागे।
30तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।”
31तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे।
32तर दावीदको दाजु शिमाहका छोरा योनादाबले भने, “मेरा मालिक तिनीहरूले सबै राजकुमारहरूलाई मारेका छन् भनी नसम्झनुहोस्; तर अमनोन मात्र मारिएका छन्। अमनोनले तिनकी बहिनी तामारलाई बलात्कार गरेको दिनदेखि उसो अब्शालोमको यो नियत थियो।
33मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।”
34यसै बीचमा अब्शालोमचाहिँ भागिसकेका थिए। यसैबीच दावीदलाई पहरेदार दिइरहेको मानिसले मास्तिर हेर्यो; र आफ्नो पश्चिमतिर भएको बाटोमा धेरै मानिसहरूलाई डाँडाबाट ओह्रालो आइरहेका देख्यो। त्यो पहरेदार गयो र राजालाई भन्यो, “म होरोनैमदेखि डाँडाको छेउहुँदै मानिसहरू तलतिर आइरहेको देख्दैछु।”
35योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।”
36तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए।
37अब्शालोम भागेर गेशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए। तर दावीद राजाचाहिँ आफ्नो छोरा अमनोनका निम्ति दिनहुँ विलाप गर्दैरहे।
38अब्शालोम भागेर गेशूरमा गए, र तिनी त्यहाँ तीन वर्षसम्म बसे।
39अमनोनको मृत्युको बारेमा राजा दावीदले सान्त्वना पाएपछि तिनलाई अब्शालोमकहाँ भेट गर्न जाने इच्छा भयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath