2 शमूएल 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए।
2त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए।
3तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो।
4“एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्यो।”
5तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ!
6त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्यो, र त्यसले कुनै दया देखाएन।”
7तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
8मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ।
9तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
10यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’
11“याहवेह यसो भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ।
12तैँले गुप्तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ”
13त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।
14तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्चय मर्नेछ।”
15अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।
16दावीदले त्यस शिशुको निम्ति परमेश्वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
17तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।
18सातौँ दिनमा त्यो शिशु मर्यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्नुभएन। अब शिशु मर्यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।”
19दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्यो भन्ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?” तिनीहरूले जवाफ दिए, “हजुर, तिनी मरे।”
20तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए।
21तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!”
22तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’
23तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।”
24त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो।
25याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।
26यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्ला कब्जा गरे।
27तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु।
28अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।”
29यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे।
30दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।
31अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath