ईसाई धर्म
पछाडि

2 राजाहरू 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1एलीशाले जुन स्त्रीको छोरालाई मृत्युबाट बचाएका थिए, ती स्त्रीलाई तिनले भनेका थिए, “तिमी आफ्नो परिवार लिएर केही समयको निम्ति जहाँ सक्छौ त्यहीँ गएर बस। किनकि याहवेहले सात वर्षसम्मका लागि देशमा अनिकाल घोषणा गर्नुभएको छ।”

2ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्।

3सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्।

4त्यसै बेला राजा परमेश्‍वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।”

5जब गेहजीले एलीशाले मरेकोलाई कसरी जीवन दिए भनी राजालाई वर्णन गरिरहेका थिए, तब ती स्त्री, जसको छोरालाई एलीशाले मृत्युबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, “हे मेरा मालिक महाराजा, यिनी नै ती स्त्री हुन्, र यिनको छोरा यही हो, जसलाई एलीशाले पुनर्जीवित पारेका थिए।”

6राजाले त्यस स्त्रीलाई यसबारे सोधे, र तिनले राजालाई बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकृतलाई सुम्पिदिएर भने, “तिनका जे जति छन्, ती सबै फर्काइदिनू र तिनले आफ्नो देश छोडेर गएको समयदेखि आजसम्म जमिनबाट जति आम्दानी भयो, त्यो पनि तिनलाई फिर्ता गरिदिनू।”

7एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्‍वरका जन यहाँसम्म आउनुभएको छ,”

8तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्‍वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्‍वरसित सल्‍लाह लिन लगाऊ।”

9हजाएल आफूसित दमस्कसका उत्तम पदार्थहरू उपहारस्वरूप चालीस वटा ऊँटहरूमा लदाएर एलीशालाई भेट्न गए। अनि तिनी भित्र गएर तिनको सामु उभिए, र भने, “तपाईंको छोरा अरामका राजा बेन-हददले मलाई ‘म यस बिरामीबाट निको हुन्छु कि हुँदिनँ?’ भनेर तपाईंलाई सोध्न पठाउनुभएको छ।”

10एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्‍चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्‍कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।”

11एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्‍वरका जन रुन लागे।

12हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?” एलीशाले जवाफ दिए, “किनकि तिमीले इस्राएलीहरूमाथि गर्ने हानि म जान्दछु। तिमीले तिनीहरूका पर्खाल लगाएका सहरहरूमा आगो लगाइदिनेछौ। तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ; तिनीहरूका साना छोराछोरीहरूलाई भुइँमा पछार्नेछौ र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछौ।”

13हजाएलले भने, “म तपाईंको सेवक एउटा कुकुरजस्तोले यस्तो ठूलो कार्य कसरी सम्पन्‍न गर्न सक्छु र?” एलीशाले जवाफ दिए, “याहवेहले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।”

14तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्‍नुभयो।”

15तर भोलिपल्ट तिनले एउटा बाक्लो लुगा लिएर त्यसलाई पानीमा चोपेर राजाको मुख छोपिदिए। यसरी राजाको मृत्यु भयो। त्यसपछि हजाएल राजा भए।

16इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे।

17राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।

18तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

19तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो।

20यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।

21यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए।

22आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो।

23यहोरामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?

24यहोराम आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अहज्याह राजा भए।

25इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे।

26राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।

27तिनी आहाबका घरानाका चालमा हिँडेर आहाबका घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; किनकि आहाबका घरानासित तिनको वैवाहिक नाता थियो।

28अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए।

29यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath