ईसाई धर्म
पछाडि

2 राजाहरू 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ।

2हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” एलीशाले भने, “जाओ।”

3तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्‍न र?” एलीशाले जवाफ दिए, “म आउनेछु।”

4अनि तिनी उनीहरूसित गए। तिनीहरू यर्दनमा पुगेर रूखहरू ढाल्न थाले।

5तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”

6परमेश्‍वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो।

7तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए।

8त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्‍लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।”

9परमेश्‍वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।”

10यसकारण इस्राएलका राजाले परमेश्‍वरका जनले भनेको ठाउँलाई हेरविचार गरे। एलीशाले घरी-घरी राजालाई चेतावनी दिइरहन्थे। त्यसैले तिनी यस्ता ठाउँहरूमा सतर्क भइरहन्थे।

11यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?”

12एक जना अधिकृतले भने, “हे महाराजा, हामीमध्ये कोही पनि छैन। तर इस्राएलमा भएका अगमवक्ता एलीशाले तपाईंले आफ्नै पलङमा बोल्नुभएको कुरासमेत इस्राएलका राजालाई सुनाइदिन्छन्।”

13राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्‍ने खबर आयो।

14तब तिनले त्यहाँ घोडाहरू, रथहरू र बलियो फौज पठाए। तिनीहरूले राति गएर त्यस सहरलाई घेरे।

15भोलिपल्ट परमेश्‍वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”

16अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।”

17तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्‍यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।

18जब शत्रु तिनी भएतिर ओर्ले, तब एलीशाले याहवेहसित प्रार्थना गरे, “यी मानिसहरूलाई दृष्‍टिविहीन तुल्याइदिनुहोस्।” यसकारण उहाँले तिनीहरूलाई एलीशाले प्रार्थना गरेझैँ दृष्‍टिविहीन तुल्याइदिनुभयो।

19एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याइदिए।

20तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे।

21इस्राएलका राजाले तिनीहरूलाई देखेपछि एलीशालाई सोधे, “के म तिनीहरूलाई मारूँ? हे मेरा पिता, के म तिनीहरूलाई मारूँ?”

22तब तिनले भने, “तिनीहरूलाई नमार्नुहोस्! के तपाईंले कैद गरेर ल्याउनुभएका मानिसहरूलाई तपाईं आफ्नै तरवार अथवा धनुले मार्नुहुन्छ? तिनीहरूले खानपिन गरून् भनी तिनीहरूको अगि भोजन र पानी राखिदिनुहोस्। अनि त्यसपछि तिनीहरू आफ्ना मालिककहाँ फर्केर जाऊन्।”

23यसकारण तिनले तिनीहरूका निम्ति एउटा ठूलो भोज तयार गरे। अनि तिनीहरूले खानपिन गरिसकेपछि एलीशाले तिनीहरूलाई पठाइदिए। त्यसपछि अरामका दलले इस्राएलको भूमिमा आक्रमण गर्न छोडे।

24केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले।

25त्यस सहरमा ठूलो अनिकाल पर्‍यो। अनिकाल यति लामो समयसम्म रह्‍यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल चाँदी र एक कब सिमीको पाँच शेकेल मूल्य भयो।

26जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!”

27राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्‍न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्‍त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?”

28तब तिनले सोधे, “तिमीलाई के भयो?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’

29यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।”

30जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे।

31राजाले भने, “यदि शापातका छोरा एलीशाको शिर आज शरीरदेखि अलग भएन भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्!”

32अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्‍न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्‍नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?”

33तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath