2 राजाहरू 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। तिनले बाह्र वर्ष राज्य गरे।
2तिनले याहवेहको दृष्टिमा दुष्टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए।
3तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्।
4यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।
5तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे।
6यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे।
7तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।”
8तब तिनले सोधे, “हामीले कुन दिशाबाट आक्रमण गरौँ?” तिनले जवाफ दिए, “एदोमको उजाडस्थानबाट।”
9यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन।
10इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?”
11तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्लाह लिन सकौँ?” इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे। ”
12यहोशापातले भने, “याहवेहको वचन तिनीसित छ।” यसकारण इस्राएलका राजा र यहोशापात अनि एदोमका राजा तिनीकहाँ तल गए।
13एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो आपसमा के सम्बन्ध छ र? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।” इस्राएलका राजाले जवाफ दिए, “होइन, किनकि याहवेहले नै हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिन बोलाउनुभयो।”
14एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ।
15तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।
16अनि तिनले भने, “याहवेह यसो भन्नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु।
17किनकि याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्।
18यो त याहवेहको दृष्टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ।
19तिमीहरूले प्रत्येक सुरक्षित र मुख्य नगरलाई जित्नेछौ। तिमीहरूले प्रत्येक असल रूख काटेर ढाल्नेछौ। सबै पानीका मूलहरू बन्द गरिदिनेछौ। अनि प्रत्येक असल खेतलाई ढुङ्गाहरूले नष्ट पारिदिनेछौ।”
20भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो।
21जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए।
22जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे।
23तिनीहरूले भने, “त्यो त रगत हो! ती राजाहरूले आपसमा लडाइँ गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!”
24तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे।
25तिनीहरूले नगरहरू नष्ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे।
26जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए।
27तब तिनले तिनीपछि राजा हुने आफ्ना जेठा छोरालाई लगेर त्यसलाई सहरको पर्खालमाथि बलिदानस्वरूप चढाए। इस्राएलको विरुद्धमा उठेको क्रोध प्रचण्ड थियो। इस्राएलीहरू त्यहाँबाट हटेर आफ्नै देशमा फर्के।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath