2 राजाहरू 21
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।
2याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे।
3आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे।
4तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
5याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
6तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिए। तिनले याहवेहको दृष्टिमा धेरै दुष्टता गरेर उहाँलाई रिस उठाए।
7तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
8यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।”
9तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे।
10याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो,
11“यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्याएको छ।
12यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्।
13म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु।
14आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्।
15तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्टिमा जे दुष्टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
16यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे।
17मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
18मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
19राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्।
20तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे।
21तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए।
22तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।
23आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
24तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
25आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
26तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath