ईसाई धर्म
पछाडि

2 राजाहरू 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”

2हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,

3“हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” तब हिजकिया धुरुधुरु रोए।

4यशैयाले बीचको चोक छोड्नअगि नै तिनीकहाँ याहवेहको वचन आयो,

5“फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।

6म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ”

7तब यशैयाले भने, “नेभाराको लेप बनाउनुहोस्।” तब तिनीहरूले त्यसै गरे, र त्यसलाई राजाको पिलोमा लगाए र तिनी निको भए।

8हिजकियाले यशैयालाई सोधेका थिए, “मलाई याहवेहले निको पार्नुहुनेछ र म अबको तेस्रो दिन याहवेहको मन्दिरमा उक्लेर जान सक्नेछु भन्‍ने चिन्ह के होला?”

9यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?”

10हिजकियाहले भने, “छाया दश कदम अगि बढ्नु त साधारण कुरा हो। बरु यो दश कदम पछाडि सरोस्।”

11तब यशैया अगमवक्ताले याहवेहलाई पुकारे। याहवेहले छायालाई दश कदम पछि जान लाउनुभयो, तब त्यो आहाजको खुड्किलोमा तल झर्‍यो।

12त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए। किनकि तिनले हिजकिया बिरामी छन् भनी सुनेका थिए।

13हिजकियाले ती दूतहरूलाई स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। तिनको महलमा वा सम्पूर्ण राज्यमा भएका सबै थोक हिजकियाले तिनीहरूलाई देखाए।

14तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट आएका हुन्।”

15तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएको सबै थोक मैले तिनीहरूलाई देखाएँ।”

16तब यशैयाले हिजकियालाई भने, “याहवेहको वचन सुन्‍नुहोस्:

17त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ।

18तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”

19हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा हुनेछैन र?”

20हिजकियाको शासनका अरू घटनाहरू, तिनका उपलब्धीहरू, र तिनले पोखरी र सुरुङ बनाएर सहरभित्र पानी ल्याएका विषयहरू, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

21हिजकिया आफ्ना पुर्खाहरूसित सुते। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath