2 राजाहरू 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा अहज्याहका छोरा योआशको शासनकालको तेईस वर्षमा येहूका छोरा यहोआहाज सामरियामा इस्राएलका राजा भए; र तिनले सत्र वर्ष राज्य गरे।
2नबातका छोरा यारोबामको मार्गमा हिँडेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि इस्राएललाई पाप गर्न लगाए; तर तिनी ती पापबाट फर्केनन्।
3यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई लामो समयसम्म अरामका राजा हजाएल र तिनका छोरा बेन-हददका अधीनमा राख्नुभयो।
4तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो।
5याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्न थाले।
6तर तिनीहरू यारोबामका घरानाका पापहरूबाट फर्केनन्, जुन पापहरू तिनले इस्राएललाई गर्न लगाएका थिए। तिनीहरू त्यसैमा लागिरहे। सामरियामा अशेरा देवीको खाँबो पनि खडा नै भइरह्यो।
7यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए।
8यहोआहाजका शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9यहोआहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा येहोआश राजा भए।
10यहूदाका राजा योआशको सैतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलमाथि राजा भए; र तिनले सोह्र वर्ष राज्य गरे।
11तिनले याहवेहको दृष्टिमा जे खराब थियो, त्यही दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका कुनै पनि पापबाट हटेनन्, जुन पाप तिनले इस्राएललाई गर्न लगाएका थिए; त्यसैमा तिनी लागिरहे।
12योआशको शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहको विरुद्धमा तिनले गरेका युद्धहरू, साथै तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
13योआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र तिनीपछि तिनका छोरा यारोबाम सिंहासनमा बसे। योआश सामरियामा इस्राएलका राजाहरूसित गाडिए।
14अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए।
15एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे।
16तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे।
17तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।”
18तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्नुहोस्।” तिनले त्यसलाई तीनपल्ट हानेर रोकिए।
19परमेश्वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पटक हान्नुपर्नेथियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीनपल्ट मात्र परास्त गर्नुहुनेछ।”
20त्यसपछि एलीशा मरे, र गाडिए। मोआबी लुटपाट गर्नेहरूले चाहिँ प्रत्येक वसन्त ऋतुमा देशमा प्रवेश गर्नेगर्थे।
21एकपल्ट इस्राएलीहरूले एक जना मानिसलाई गाडिरहेको बेला अचानक तिनीहरूले लुटपाट गर्नेहरूको एउटा दललाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलीशाको चिहानमा त्यसै फ्याँकिदिए। त्यस मानिसको शरीरले एलीशाका हाडहरू छोएपछि त्यो मानिस जीवित भएर खुट्टामा उभियो।
22यहोआहाजको शासनकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई सताए।
23तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन।
24अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।
25तब यहोआहाजका छोरा योआशले हजाएलका छोरा बेन-हददबाट आफ्ना पिता यहोआहाजबाट तिनले लगेका सहरहरू फेरि आफ्नो अधीनमा ल्याए। येहोआशले तीनपल्ट तिनलाई जिते। यसरी तिनले इस्राएलका सहरहरू फेरि प्राप्त गरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath