ईसाई धर्म
पछाडि

2 राजाहरू 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येहूको सातौँ वर्षमा येहोआश राजा भए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।

2येहोआशले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए।

3तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।

4येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्‍त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू।

5प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”

6तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्।

7यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्‍न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।”

8तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए।

9पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्‍ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले।

10तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे।

11त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई,

12डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले याहवेहको भवन मरमतका लागि काठहरू, काटिएका ढुङ्गाहरू किने र आवश्यक रकम भुक्तानी गरे।

13तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्।

14त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो।

15कामदारहरूलाई ज्याला दिनेहरूबाट तिनीहरूले रुपियाँपैसाको हिसाब लिएनन्; किनकि तिनीहरूले पूर्ण इमानदारीसाथ काम गर्थे।

16दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो।

17त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के।

18तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए।

19योआशको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?

20तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे।

21तिनलाई हत्या गर्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath