2 इतिहास 35
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1योशियाहले याहवेहका निम्ति यरूशलेममा निस्तार चाड मनाए। पहिलो महिनाको चौधौँ दिन निस्तार चाडको थुमा मारे।
2तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए।
3तिनले सारा इस्राएललाई सिकाउने र याहवेहकहाँ पवित्र पारिएका लेवीहरूलाई भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दावीदका छोरा सोलोमनले बनाएको मन्दिरमा राख्नू। यसलाई तिमीहरूका काँधमा राखेर यताउता नलैजानू। अब याहवेह तिमीहरूका परमेश्वर र इस्राएलका मानिसहरूको सेवा गर्नू।
4इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू।
5“तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू।
6याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।”
7योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए।
8तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए।
9केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए।
10यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए।
11निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे।
12मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे।
13तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए।
14त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे।
15सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए।
16यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्न गरियो।
17उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए।
18अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्।
19योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।
20यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए।
21तर नेकोले तिनीकहाँ दूतहरू पठाएर भने, “हे यहूदाका राजा, तपाईं र मेरो के सरोकार छ र? अहिले मैले आक्रमण गरिरहेको तपाईंसँग होइन, तर मसँग शत्रुतामा रहेको घरानासँग मात्र हो। मलाई चाँडो जानू भन्ने परमेश्वरको आज्ञा छ। यसकारण मेरो पक्षमा हुनुहुने परमेश्वरको विरोध गर्न छोड्नुहोस्, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”
22तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए।
23धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।”
24यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे।
25यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्।
26योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू,
27सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath