ईसाई धर्म
पछाडि

2 इतिहास 32

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हिजकियाले पूर्ण विश्‍वासयोग्यतामा सबै काम गरिसकेपछि अश्शूरका राजा सनहेरीब आए र यहूदामाथि आक्रमण गरे। तिनले सुरक्षित सहरहरूलाई आफ्ना निम्ति जित्ने विचारले ती सहरहरू घेरे।

2सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने।

3तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्‍लाह लिए; अनि तिनीहरूले उनलाई सघाए।

4मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?”

5तब तिनले कठोर परिश्रमसाथ पर्खालका भत्किएका भागहरू मर्मत गरे; अनि तीमाथि धरहराहरू निर्माण गरे। तिनले त्यस पर्खालबाहिर अर्को पर्खाल बनाए, र दावीदको सहरका छानाहरूलाई बलियो पारे। तिनले धेरै मात्रामा भाला र ढालहरू पनि बनाए।

6तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ।

7अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ।

8तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए।

9त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए:

10“अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ?

11जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्।

12के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र?

13“मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए?

14मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्?

15अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्‍वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!”

16सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले।

17राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।”

18तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे।

19यरूशलेमका परमेश्‍वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने।

20राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे।

21तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए।

22यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो।

23धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले।

24ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो।

25तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो।

26तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्‍चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन।

27हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए।

28तिनले अन्‍नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्‍न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए।

29तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्‍त गरे; किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।

30गीहोनको पानीको मूलको माथिल्‍लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्‍चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे।

31तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्‍वरले तिनका मनमा रहेका सबै कुरा जान्‍नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो।

32हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।

33हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath