ईसाई धर्म
पछाडि

2 इतिहास 30

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए।

2राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे।

3पर्याप्‍त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्।

4यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो।

5तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्‍चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।

6राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो: “इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्।

7तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो।

8तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्‍वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्।

9यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्‍चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्‍वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।”

10ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे।

11तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए।

12यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्‍वरका हात मानिसहरूमाथि थियो।

13दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो।

14तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।

15तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए।

16तब तिनीहरूले परमेश्‍वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के।

17त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्‍यो।

18एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्,

19जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।”

20याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।

21यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।

22हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।

23त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए।

24यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए।

25पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्‍ने परदेशीहरू पनि सामेल थिए।

26इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो।

27पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्‍वरले तिनीहरूको कुरा सुन्‍नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath