2 इतिहास 29
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1राजा हुँदा हिजकिया पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।
2आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
3आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे।
4तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए,
5र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ।
6हाम्रा पुर्खाहरू विश्वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्वरको दृष्टिमा दुष्टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए।
7तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्।
8यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ।
9यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्।
10उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।
11मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्नुभएको छ।”
12तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन;
13एलीशापानका सन्तानहरूबाट: शिम्री र यीएल; आसापका सन्तानहरूबाट: जकरिया र मत्तन्याह;
14हेमानका सन्तानहरूबाट: यहीएल र शिमी; यदूतूनका सन्तानहरूबाट: शमायाह र उज्जीएल।
15तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे।
16पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे।
17पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।
18तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ।
19राजा हुँदा आहाजले आफ्नो अविश्वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।”
20भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए।
21तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे।
22यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए।
23पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे।
24त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए।
25तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो।
26यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए।
27हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो।
28सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्त नभएसम्म यस्तो भइरह्यो।
29भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे।
30राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे।
31तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए।
32समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए।
33बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए।
34तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए।
35त्यहाँ होमबलि पर्याप्त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो।
36परमेश्वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath