ईसाई धर्म
पछाडि

2 इतिहास 25

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अमस्याह पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।

2तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन।

3सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।

4तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्।

5अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ बोलाए, र तिनीहरूलाई आफ्ना परिवारहरू बमोजिम सबै यहूदा र बेन्यामीनको निम्ति हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूको जिम्मामा लगाइदिए। त्यसपछि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई बटुले; अनि लडाइँका निम्ति तयार पारे, जसको संख्या तीन लाख थियो। यी मानिसहरू भाला र ढाल चलाउनमा कुशल थिए।

6तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा एक लाख लडाकु मानिसहरू भाडामा लिए।

7तर एक जना परमेश्‍वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्‍न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ।

8यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्‍वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्‍वरसितै छ।”

9अमस्याहले परमेश्‍वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्‍वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”

10यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे।

11तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे।

12यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए।

13त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए।

14एदोमीहरूलाई परास्त गरेर फर्कँदा अमस्याहले सेइरका मानिहरूका देवताहरू ल्याए। तिनले ती मूर्तिहरूलाई आफ्नै ईश्‍वरझैँ राखे। तिनीहरूको सामु निहुरे, र तिनीहरूकहाँ होमबलिहरू चढाए।

15तब याहवेहको क्रोध अमस्याहको विरुद्धमा दन्क्यो; अनि उहाँले एक जना अगमवक्ता तिनीकहाँ पठाउनुभयो; जसले तिनलाई भने, “तपाईंले यी मानिसहरूका देवताहरूसित किन सल्‍लाह लिनुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउन सकेनन्?”

16तिनी बोल्दाबोल्दै राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाको सल्‍लाहकार नियुक्त गरेका छौँ? चुप लाग! तिमी किन मारिन चाहन्छौ?” यसकारण ती अगमवक्ता चुप लागे, र यसो भने, “म जान्दछु, तपाईंले यसो गर्नुभएको छ; र मेरो सल्‍लाह सुन्‍नुभएन। यसकारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।”

17यहूदाका राजा अमस्याहले आफ्ना सल्‍लाहकारहरूसित सल्‍लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”

18तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।

19हेर, मैले एदोमलाई परास्त गरेँ भनी तिमी भन्छौ; अब तिमी घमण्डी र अहङ्कारी भएका छौ। तर अब घरमै बसिरहनू! किन विपत्ति खोज्छौ? आफ्नै पतन र यहूदाको समेत किन पतन गर्न चाहन्छौ?”

20तर अमस्याहले सुन्‍न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्‍वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो।

21यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।

22यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।

23इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआशले तिनलाई यरूशलेममा ल्याए र यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।

24तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्‍वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के।

25यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।

26अमस्याहको शासनका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, के ती यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छैनन् र?

27अमस्याहले याहवेहलाई पछ्याउन छोडेको समयदेखि तिनीहरूले यरूशलेममा तिनको विरुद्धमा षड्यन्त्र रचे; अनि तिनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।

28तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath