ईसाई धर्म
पछाडि

2 इतिहास 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए।

2मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।”

3यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे।

4यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्‍लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए।

5तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए,

6र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन।

7हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र?

8तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्,

9‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’

10“तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले।

11तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्।

12हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।”

13यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए।

14तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।

15तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो।

16भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ।

17तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”

18यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे।

19तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

20बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।”

21मानिसहरूसित सल्‍लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: “याहवेहलाई धन्यवाद देओ; किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

22तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए।

23अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे।

24जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन।

25यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो।

26चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ।

27तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो।

28तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए।

29सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्‍वरको डर तिनीहरूमा छायो।

30यहोशापातको राज्य शान्तिमा रह्‍यो; किनकि तिनका परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।

31यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्।

32तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

33तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति लगाएका थिएनन्।

34यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

35पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्‍ट थिए।

36व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए।

37तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी गरेर भने, “तपाईंले अहज्याहसित मित्रता बाँधेका हुनाले याहवेहले तपाईंले बनाउनुभएका कुराहरू नाश पारिदिनुहुनेछ।” ती जहाजहरू भत्किए, र व्यापार गर्नको लागि जान सकेनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath