ईसाई धर्म
पछाडि

2 इतिहास 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।

2तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो:

3“सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्,

4‘याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के।

5रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे:

6बेथलेहेम, एताम, तको,

7बेथ-सूर, सोको, अदुल्‍लाम,

8गात, मारेशा, जीप,

9अदोराइम, लाकीश, अजेका,

10सोरा, अय्यालोन र हेब्रोन, जो यहूदा र बेन्यामीनमा भएका सुरक्षित सहरहरू थिए।

11तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए।

12तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए।

13तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्‍लाहरूबाट तिनीकहाँ हाजिर भए।

14लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।

15तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए।

16आफ्ना हृदय याहवेह इस्राएलका परमेश्‍वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे।

17तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।

18रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्।

19महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम।

20तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।

21रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।

22रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।

23तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्‍लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath