ईसाई धर्म
पछाडि

2 इतिहास 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।

2जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए।

3यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:

4“तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”

5रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले।

6तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”

7तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।”

8तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।

9तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”

10तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।

11मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’

12“तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।

13राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे।

14तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”

15यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्‍वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।

16जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए।

17तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।

18राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।

19यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath