ईसाई धर्म
पछाडि

1 तिमोथी 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर।

2वृद्ध स्त्रीहरूलाई आमाझैँ, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीहरूलाईझैँ व्यवहार गर।

3जुन विधवाहरू साँच्‍चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर।

4तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्‍वरको दृष्‍टिमा मनपर्दो छ।

5साँच्‍चै खाँचोमा परेकी विधवा, जो एकलै छिन्, तिनी परमेश्‍वरमा आफ्नो आशा राख्तछिन्, र परमेश्‍वरसित सहायता माग्दै दिनरात प्रार्थनामा लागिरहन्छिन्।

6तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो।

7मानिसहरूलाई यी आज्ञाहरू देऊ, तिनीहरू दोषरहित होऊन्।

8यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको छ, र त्यो विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्छ।

9कुनै विधवाको उमेर साठी वर्ष माथि छैन, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाम विधवाहरूका सूचीमा नराख।

10तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठिकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाम मात्र राख।

11तर तरुणी विधवाहरूका नामचाहिँ यस्तो सूचीमा नराख; किनकि जब तिनीहरूका कामुक इच्छाहरूले ख्रीष्‍टप्रतिको तिनीहरूका समर्पणतालाई जित्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्।

12यसरी तिनीहरूले आफ्ना पहिलेका प्रतिज्ञा भङ्ग गरेर आफूमाथि न्याय ल्याउँछन्।

13यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्।

14यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्‍चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्‍ने सल्‍लाह दिन्छु।

15किनकि कतिपय तर्किगएर शैतानलाई पछ्याउन थालिसकेका छन्।

16यदि कुनै विश्‍वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई तिनले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्‍चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्‍याउन सकोस्।

17मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्।

18किनकि पवित्र धर्मशास्त्रले भन्छ, “अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,” र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।”

19दुई वा तीन साक्षीहरू नभएसम्म मण्डली प्रधानका विरुद्धमा लगाइएका अभियोग ग्रहण नगर्नू।

20तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्।

21परमेश्‍वर, ख्रीष्‍ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर।

22कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख।

23तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।

24कति मानिसहरूका पापहरू तिनीहरूका सामु राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्; अरूहरूका पापहरू पछि मात्र देखिन्छन्।

25यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; अनि गुप्‍तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैँका लागि लुक्न सक्दैनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath