ईसाई धर्म
पछाडि

1 शमूएल 9

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए।

2कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्।

3एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।”

4यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्।

5जब तिनीहरू सूपको जिल्‍लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।”

6तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्‍वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।”

7शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्‍वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”

8त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्‍वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।”

9(त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्‍वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्‍ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।)

10तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्‍वरका जन भएको सहरमा गए।

11तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”

12तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।”

13“तपाईंहरू सहरमा पस्‍नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।”

14तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए।

15अब शाऊल आउनुभन्दा अगिल्‍लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो:

16“म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्‍टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।”

17जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्‍नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”

18शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!”

19शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु।

20अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।”

21शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्‍नुहुन्छ?”

22तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए।

23तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।”

24यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए।

25तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।

26तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।

27जब तिनीहरू सहरको पल्‍लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्‍यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्‍वरको सन्देश बताउन सकूँ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath