1 शमूएल 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे।
2तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।
3तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्ट पार्न थाले।
4यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए।
5तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।”
6तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।
7अनि याहवेहले शमूएललाई भन्नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।”
8मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्।
9अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे।
10यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए।
11तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्।
12कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्।
13तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्।
14तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्।
15तिनले तिमीहरूका अन्न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।
16तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।
17तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्नेछौ।
18जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
19तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ।
20तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।”
21जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्याइदिए।
22याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरू हरेक आ-आफ्ना घरमा फर्केर जाओ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath