ईसाई धर्म
पछाडि

1 शमूएल 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।

2किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। शमूएलले मिस्पामा पलिश्तीहरूलाई हराएका त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।

3अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”

4यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।

5तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”

6जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।

7जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू डराए।

8इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्‍वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”

9तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।

10शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।

11इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्‌दै गए।

12तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”

13यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्‍यो।

14पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।

15शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।

16हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे।

17तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath