ईसाई धर्म
पछाडि

1 शमूएल 30

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए।

2स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए।

3जब दावीद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सिक्लगलाई आगोद्वारा नाश गरिएको र तिनीहरूका पत्नीहरू, आफ्ना छोराछोरीहरूलाई कैदी बनाएर लगिएको भेट्टाए।

4यसकारण दावीद र तिनका मानिसहरू यति धेरै डाको छोडेर रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।

5दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो।

6दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्‍वरमा शक्ति पाए।

7त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए।

8अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्‍चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।”

9दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे।

10किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे।

11तिनीहरूले खेतमा एक जना इजिप्टियनलाई भेट्टाए, र त्यसलाई दावीदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानलाई भोजन र पिउन पानी दिए।

12तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन।

13दावीदले त्यसलाई सोधे, “तँ को होस्? र कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म एक जना इजिप्टियन, अमालेकीको एउटा दास हुँ। म तीन दिन अगि बिरामी हुँदा मेरो मालिकले मलाई छोडे।

14हामीले करेतीहरूको दक्षिणी भाग, यहूदाको इलाका र कालेबको दक्षिणी भागलाई लुट्यौँ। अनि हामीले सिक्लगलाई आगो लगाइदियौँ।”

15दावीदले त्यसलाई सोधे, “के तैँले मलाई त्यस लुटपाट गर्ने दलकहाँ लैजान सक्छस्?” त्यसले जवाफ दियो, “तपाईंले मलाई मार्नुहुन्‍न र मलाई मेरा मालिकको हातमा सुम्पिदिनुहुन्‍न भनी परमेश्‍वरको नाममा शपथ खानुहोस्, तब म तपाईंलाई तिनीहरूकहाँ लैजानेछु।”

16त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए।

17दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।

18दावीदले आफ्नी दुईवटी पत्नीहरू लगायत अमालेकीहरूले लगेका सबै कुरा फेरि फिर्ता ल्याए।

19कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए।

20तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।”

21त्यसपछि दावीद ती दुई सय मानिसहरूकहाँ आए, जो तिनलाई पछ्याउन नसकेर अति थकित भई बसोरको बेँसीमा बसेका थिए। तिनीहरू दावीद र तिनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए। जब दावीद र तिनका मानिसहरू आइपुगे, तब तिनले उनीहरूलाई अभिवादन गरे।

22तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्‍ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्‍चाहरू भने लैजाऊन्।”

23तब दावीदले जवाफ दिए, “त्यसो होइन मेरा भाइहरू हो, याहवेहले हामीलाई रक्षा गर्नुभयो। यी सबै कुरा हामीलाई दिनुभयो; अनि शत्रुहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो। अब उहाँले हामीलाई दिनुभएका कुराहरूसँग तिमीहरूले त्यसो गर्नुहुँदैन।

24तिमीहरूले भनेको कुरा कसले मान्ला? मालसामानसँग बस्‍ने मानिसको हिस्सा पनि लडाइँमा जाने मानिसको बराबर हुनेछ। सबैले बराबर हिस्सा पाउनेछन्।”

25दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए।

26दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।”

27तिनले ती कुराहरू बेथेल, रामोत-नेगेव र यत्तीरमा भएकाहरूलाई;

28अरोएर, सीपमोत र एश्तमोमा भएकाहरूलाई;

29अनि राकालमा; यरहमेलीहरू र केनीहरूका सहरमा भएकाहरूलाई;

30होर्मा, बोर-आशान, अत्ताकमा भएकाहरूका निम्ति,

31र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath