1 शमूएल 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब हन्नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु।
2“याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्वरजस्तै चट्टान अरू कोही छैन।
3“घमण्डले फुलेर धेरै बोल्न बन्द गर, अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; किनकि याहवेह परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ।
4“योद्धाहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्।
5एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। ती बाँझी स्त्रीले सात जना बच्चाहरू जन्माएकी छिन्; तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्।
6“याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ।
7याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्च पार्नुहुन्छ।
8उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ।
9उहाँले आफ्ना विश्वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन;
10याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, तिनीहरूका विरुद्धमा सर्वोच्च स्वर्गबाट गर्जनुहुनेछ; याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्च पार्नुहुनेछ।”
11त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे।
12एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन।
13पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे;
14अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे।
15त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।”
16यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।”
17ती जवान मानिसहरूको पाप याहवेहको दृष्टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए।
18तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे।
19प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्।
20पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे।
21अनि याहवेहले हन्नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए।
22अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहवास गर्दैछन् भन्ने कुरा सुने।
23यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्ट कामहरूको बारेमा सुन्दैछु।
24हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन।
25यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो।
26अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए।
27याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्ट रूपमा प्रकट गरिनँ र?
28मैले तिमीहरूका पितापुर्खाहरूलाई मेरो पुजारी हुन र वेदीमा उक्लेर गई धूप बाल्न; अनि मेरो उपस्थितिमा एपोद पहिरिन इस्राएलका सबै कुलहरूबाट चुनेँ। मैले तिमीहरूका पितापुर्खाहरूको घरानालाई इस्राएलीहरूले चढाएका सबै अन्नबलिहरू पनि दिएँ।
29तिमीहरू किन मैले मेरो वासस्थानको निम्ति तोकेका बलि र भेटीको अनादर गर्छौ? मेरा इस्राएली जनहरूले चढाएका हरेक भेटीका असल भागहरू खाएर आ-आफूलाई पुष्ट्याएर तैँले किन मलाई भन्दा बढी तेरा छोराहरूलाई आदर गर्छस्?’ ”
30यसकारण याहवेह इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ: तेरो घराना र तेरा पितापुर्खाका घरानाले सधैँभरि मेरो सेवा गर्नेछौ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब याहवेह घोषणा गर्नुहुन्छ, “मबाट अब यस्तो हुनेछैन! मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु, तर मेरो अपमान गर्नेहरू अपमानित हुनेछन्।”
31हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन।
32अनि तैँले मेरो बासस्थानमा पीडा देख्नेछस्। यद्यपि इस्राएलको भलाइ गरिए तापनि तेरो वंशको परिवारमा चाहिँ कहिल्यै कुनै पनि मानिस वृद्ध अवस्थामा पुग्नेछैन।
33तेरो घरानाको प्रत्येक, जसलाई मैले मेरो वेदीमा सेवा गर्नबाट रोक्नेछैनँ; म त्यसलाई तेरो दृष्टि नष्ट गर्न र हृदय दुःखित पार्नलाई मात्र छोडिदिनेछु। अनि तेरा सबै सन्तानहरू जवानी अवस्थामा नै मर्नेछन्।
34“ ‘अनि तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि जे हुनेछ, त्यो तेरा निम्ति एउटा चिन्ह हुनेछ—तिनीहरू दुवै एकै दिनमा मर्नेछन्।
35म आफ्ना निम्ति एक जना विश्वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ।
36अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath