ईसाई धर्म
पछाडि

1 शमूएल 25

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।

2माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।

3तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए।

4दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्‍ने कुरा सुने।

5यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।

6तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्!

7“ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन।

8तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्‍नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ”

9दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए।

10नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्।

11मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?”

12तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए।

13दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।

14सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो।

15तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन।

16हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए।

17यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्‍ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।”

18तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्‍लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्।

19तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्।

20तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।

21दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ।

22यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”

23जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्।

24तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्‍नुहोस् र दोष मैमाथि नै परोस्।”

25मेरो मालिकले त्यस दुष्‍ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ।

26यसैले अब, याहवेह तपाईंका जीवित परमेश्‍वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्।

27मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।

28कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्‍चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्।

29यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।

30याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि,

31मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्‍वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला।

32तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।

33तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।

34साँच्‍चै इस्राएलका परमेश्‍वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”

35त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।”

36जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्।

37त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए।

38लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।

39जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।” त्यसपछि दावीदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए।

40तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।”

41तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।”

42तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।

43दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए।

44तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्‍लीममा बस्‍ने लेशका छोरा पल्तिएललाई दिएका थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath