1 शमूएल 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?”
2जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!”
3तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।”
4तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।”
5यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु।
6यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’
7यदि उहाँले, ‘ठिकै छ,’ भन्नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्चित हुनु।
8तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”
9जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्नेथिइनँ र?”
10तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?”
11जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए।
12तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्नँ र?
13तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्।
14तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्।
15अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।”
16यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।”
17दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे।
18तब जोनाथनले दावीदलाई भने, “भोलि औँसीको चाड हो। तपाईंको ठाउँ खाली देखेर सबैले सोध्नेछन्।
19पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्।
20म त्यतातिर कुनै निशानामा हानेझैँ गरेर तीन वटा काँडहरू हान्नेछु।
21तब म एउटा केटालाई पठाएर भन्नेछु, ‘ती काँडहरू खोज।’ यदि मैले त्यसलाई, ‘हेर्, काँडहरू तेरो यतापट्टि छ; तिनलाई यहाँ लिएर आइज’ भनेँ भने तपाईं आउनसक्नुहुनेछ। किनकि जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, तपाईं सुरक्षित रहनुहुनेछ; अनि तपाईंलाई कुनै खतरा हुनेछैन।
22तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ।
23अनि तपाईं र मैले गरेको कुराहरूको बारेमा चाहिँ याद राख्नुहोला। तपाईं र मेरो बीचमा सदासर्वदाका निम्ति याहवेह साक्षी हुनुहुन्छ।”
24यसकारण दावीद गएर खेतमा लुके। अनि जब औँसीको चाड आयो, तब राजा भोजन गर्न बसे।
25शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो।
26त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए।
27तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?”
28जोनाथनले शाऊललाई जवाफ दिए, “दावीदले बेथलेहेम जानलाई मसँग ढिपी गरेर अनुमति मागेका थिए।
29तिनले भने, ‘मलाई जान दिनुहोस्; किनकि हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेका छन्। अनि मेरा दाजुले मलाई त्यहाँ उपस्थित हुनु भनेर हुकुम गर्नुभएको छ। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई आफ्ना दाजुहरूलाई भेट्न जान दिनुहोस्।’ यसैकारण तिनी राजाको भोजमा उपस्थित छैनन्।”
30तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्ने कुरा के मलाई थाहा छैन र?
31जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।”
32जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?”
33तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए।
34जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए।
35भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो।
36तब तिनले त्यस केटोलाई भने, “मैले हानेको काँड खोज्न दौडेर जा।” त्यो केटो दौडेर गएपछि तिनले त्यसको पछिल्तिर अर्को काँड हाने।
37जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?”
38तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो।
39(त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।)
40तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।”
41त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।
42जोनाथनले दावीदलाई भने, “शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ ” त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath