ईसाई धर्म
पछाडि

1 शमूएल 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे।

2अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्‍नुहोस्।

3म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।”

4जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ।

5तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्‍न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?”

6शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै दावीद मारिनेछैन।”

7यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे।

8एक पटक फेरि युद्ध मच्‍चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे।

9तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए।

10अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।

11शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, “यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।”

12यसकारण मीकलले दावीदलाई एउटा झ्यालबाट ओरालिदिइन्। तब तिनी भागे, र उम्कन सफल भए।

13त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्।

14जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।”

15तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!”

16तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए।

17तब शाऊलले मीकललाई भने, “किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?” तब मीकलले भनिन्, “तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’ ”

18जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्‍न थाले।

19“दावीद रामा सहरको नैयोत गाउँमा छन्,” भनेर शाऊलकहाँ खबर आइपुग्यो।

20यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्‍वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले।

21शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे।

22आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।”

23यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्‍वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे।

24तिनले आफ्नो पोशाक उतारे। अनि शमूएलको उपस्थितिमा पनि अगमवाणी गरे। तिनी त्यस दिनभरि र रातभरि नाङ्गै बसे। यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन् र?”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath