ईसाई धर्म
पछाडि

1 शमूएल 17

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले।

2शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्‌क्ति बाँधेर तैनाथ भए।

3बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए।

4पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो।

5त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो;

6त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो।

7त्यसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।

8तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्‌क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ।

9यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।”

10तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।”

11त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।

12अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए।

13यिशैका तीन जना ठूला छोराहरू शाऊलसँग युद्धमा गएका थिए: जेठो एलिआब, माहिलो अबीनादाब र साहिँलो शम्मा।

14दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए।

15तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे।

16चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो।

17अब यिशैले आफ्ना छोरा दावीदलाई भने, “यो एक एपा भुटेको अन्‍न र यी दश वटा रोटीहरू तेरा दाजुहरूका निम्ति लिएर चाँडै तिनीहरूको छाउनीमा जा।

18तिनीहरूका छाउनीका सेनापतिकहाँ यी दश वटा पनीर पनि लिएर जा। तेरा दाजुहरू कस्ता छन्, गएर हेर् र तिनीहरूबाट केही सान्त्वनाको खबर लिएर आइज।

19तिनीहरू शाऊलसँग छन्, र इस्राएलका सबै मानिसहरू एलाको बेँसीमा पलिश्तीहरूसँग युद्ध गर्दैछन्।”

20भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे।

21इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए।

22दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे।

23दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने।

24जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे।

25इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।”

26दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्‍वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?”

27तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्‍याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।”

28जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्‍ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।”

29दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?”

30तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए।

31दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए।

32दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।”

33तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।”

34तर दावीदले शाऊललाई भने, “तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो,

35तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे।

36तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूलाई धम्की दिएको छ।

37जुन परमेश्‍वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”

38तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए।

39दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्‍टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए।

40तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।

41त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो।

42त्यसले दावीदलाई नियालेर हेर्‍यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो।

43त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो।

44त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।”

45तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।

46आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा जान्‍नेछन्।

47यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्‍न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”

48जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए।

49दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो।

50यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे।

51दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे।

52अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए।

53पलिश्तीहरूलाई खेदेर इस्राएलीहरू फर्कँदा, तिनीहरूले पलिश्तीहरूका छाउनी लुटे।

54दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे।

55दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्‍चै मलाई थाहा छैन।”

56तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।”

57जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्‍याए।

58शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath