1 शमूएल 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले शमूएललाई भन्नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।”
2तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’
3यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।”
4याहवेहले भन्नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”
5शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए।
6जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”
7तर याहवेहले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।”
8तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्नुभएको छैन।”
9तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्नुभएको छैन।”
10यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्नुभएको छैन।”
11यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।”
12यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।”
13यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए।
14अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।
15शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्नुहोस्, परमेश्वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।
16हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।”
17यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”
18तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।”
19तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।”
20यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए।
21दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए।
22तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्न छु।”
23जब-जब परमेश्वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath