ईसाई धर्म
पछाडि

1राजाहरू 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1सोलोमनले आफ्नो निम्ति महल निर्माण गरे। यो निर्माण गर्न तेह्र वर्ष लाग्यो।

2तिनले जङ्गलको लेबनानको काठले एक सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अग्लो राजमहल बनाए; जसमा देवदारुका दलिनलाई थाम्ने देवदारुकै चार लहर खम्बाहरू थिए।

3खम्बाहरूमा अडिएका दलिनहरूमाथि देवदारुको छाना लगाइयो, र एक लहरमा पन्ध्र वटा गरी जम्मा पैँतालीस वटा दलिनहरू थिए।

4त्यसका झ्यालहरू एक-अर्कापट्टि फर्किएका तीन पङ्‌क्तिमा अग्लो गरी बनाइएका थिए।

5सबै ढोकाहरूका चौकसहरू चारकुने थिए। तिनीहरू तीन लहरमा अगाडिपट्टि एक-अर्कातिर फर्किएका थिए।

6तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो।

7त्यसपछि तिनले सिंहासनका निम्ति एउटा ठूलो कोठा, अर्थात् न्याय गर्ने कोठा बनाए; जहाँ तिनले न्याय गर्थे। तिनले त्यसलाई भुइँदेखि छानासम्म देवदारुका फल्याकहरूले छोपिदिए।

8अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्‍नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए।

9बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए।

10ती भवनका जगहरू कुनै दश क्यूबिट अनि कुनै आठ क्यूबिट नापका ठूला र उच्‍च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए।

11त्यसमाथि ठिक नापमा काटिएका उच्‍च स्तरका ढुङ्गाहरू र देवदारुका दलिनहरू थिए।

12ठूलो चोकलाई काटिएका तीन लहर ढुङ्गाहरू र एक लहर देवदारुका खम्बाका पर्खालले घेरिएको थियो। याहवेहको भवनको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।

13राजा सोलोमनले टायरबाट हूरामलाई बोलाउन पठाए।

14तिनकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्। अनि बुबाचाहिँ टायरमा बस्‍ने काँसोका सिपालु कारिगर थिए। हूराम काँसको सबै कार्यमा अति सिपालु र अनुभवी थिए। तिनले राजा सोलोमनकहाँ आएर तिनलाई सुम्पिएका सबै कामहरू गरे।

15तिनले अठार क्यूबिट अग्ला र बाह्र क्यूबिट गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए।

16तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट अग्लो थियो।

17प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो।

18तिनले खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरूलाई सजाउने प्रत्येक जालीको चारैपट्टि दुई लहरमा दारिमहरू बनाए।

19दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट थियो।

20जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए।

21तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज नाम राखे।

22टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।

23तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो।

24किनारको मुन्तिर प्रत्येक क्यूबिटमा दश वटा गरी लौका आकारहरूका घेरा थिए। ती आकारहरू खड्कुँलोसितै जोडिएर दुई लहरमा बनिएका थिए।

25त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।

26त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा दुई हजार बाथ अटाउँथ्यो।

27हूरामले काँसाका दश वटा ठेला गाडाहरू बनाए। जसमा प्रत्येक गाडाको लम्बाइ चार क्यूबिट, चौडाइ चार क्यूबिट र उचाइ तीन क्यूबिट थियो।

28ती यसरी बनाइएका थिए: ती ठेलागाडाका चारैतिर पाताहरू थिए। ती पाताहरू ठाडो डण्डीको बीच-बीचमा जोडिएका थिए।

29ती ठाडो डण्डीहरूका बीच-बीचका पाताहरूमा सिंह, साँढे र करूबहरूका आकृतिहरू थिए। अनि ती ठाडो डण्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेहरूका आकृतिहरूको तल्तिर र मास्तिर पिटेर बनाइएका मालाका हारहरू थिए।

30प्रत्येक ठेलागाडामा काँसका चार वटा चक्‍का र काँसोका चार वटा धुराहरू थिए। अनि ठेलागाडाको चारै कुनामा भएका ती चार वटा टेकोहरूमाथि त्यो भाँडो अड्याइएको थियो, जुनचाहिँ प्रत्येक पाटाका हारहरूसहित थिए।

31गाडाका भित्रपट्टि एक क्यूबिट गहिरो गोलाकार फ्रेमसहितको एउटा बाटा थियो। अनि त्यसको पीँधसित नाप्दा त्यो डेढ क्यूबिट थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गाडाका फल्याकहरू गोलो नभएर वर्गाकार थिए।

32ती चार चक्‍काहरू फल्याकमुनि थिए। अनि चक्‍काका धुराहरू गाडासित जोडिएका थिए। प्रत्येक चक्‍काको उचाइ डेढ क्यूबिट थियो।

33ती चक्‍काहरू रथका चक्‍काझैँ बनाइएका थिए। अनि धुरा, घेरा, सुइरा र नाभिहरू धातु ढालेर बनाइएका थिए।

34प्रत्येक गाडाका चार कुनामा चारै वटा बिँडहरू थिए; अनि ती बिँडहरूलाई गाडासँगै एउटै धातुको टुक्रा ढालेर बनाइएको थियो।

35प्रत्येक गाडाको टुप्पामा एउटा आधा क्यूबिट गहिरो घेरा बनाइएको थियो। ती टेकोहरू र फल्याकलाई गाडाका टुप्पामा त्यस घेरासँग जोडिएको थियो।

36तिनले टेकोहरूमा र फल्याकहरूमा करूबहरू, सिंहहरू र खजूरका रूखहरू खोपे र चारैतिर हारहरू बनाइदिए।

37यस किसिमले तिनले दश वटा गाडाहरू बनाए। ती सबैलाई एउटै साँचोमा, एउटै नाप र एउटै आकारमा ढालेर बनाइएका थिए।

38त्यसपछि हूरामले चालीस बाथ पानी अटाउने काँसाका दश वटा बाटाहरू बनाए। जुन नापमा चार क्यूबिट फराकिलो थियो। ती दशै वटा गाडाहरू हरेकमा एक-एक वटा बाटा थिए।

39तिनले पाँच वटा गाडाहरू मन्दिरको दक्षिणपट्टि अनि पाँच वटा चाहिँ उत्तरपट्टि राखे। तिनले खड्कुँलोलाई मन्दिरको दक्षिण-पूर्वपट्टिको कुनामा दक्षिणपट्टि राखे।

40तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले याहवेहको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले जिम्मा लिएका सबै कामहरू गरेर सिद्ध्याए:

41दुई स्तम्भहरू; र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू;

42दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू);

43दश वटा गाडाहरूसहित तिनीहरूका बाटाहरू;

44खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;

45भाँडाहरू, बेल्चाहरू र छर्कने भाँडाहरू। हूरामले राजा सोलोमनको लागि याहवेहको भवनका निम्ति बनाइदिएका यी सबै सामानहरू टल्काइएका काँसाका थिए।

46राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए।

47सोलोमनले सबै कुराहरूको तौल राखेनन्; किनकि ती अति धेरै थिए। काँसाको तौल नाप्‍न असम्भव थियो।

48सोलोमनले याहवेहको मन्दिरमा भएका सबै श्रृङ्गारका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने सुनको टेबुल;

49निखुर सुनका सामदानहरू (भित्री पवित्रस्थानको सामु पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि); सुनका फूलहरू र बत्तीहरू र चिम्टाहरू;

50निखुर सुनका बाटाहरू, सलेदोका चिम्टाहरू; छर्कने भाँडाकुँडाहरू र धूपदानीहरू; अनि सबैभन्दा भित्री कोठा अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका निम्ति र मन्दिरका मुख्य कोठाका ढोकाहरूका निम्ति सुनका कब्जाहरू।

51जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए, तब तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। अनि तिनले ती याहवेहको मन्दिरका भण्डारहरूमा राखे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath