ईसाई धर्म
पछाडि

1राजाहरू 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1सोलोमनले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महिना, अर्थात् जीव नामक दोस्रो महिनामा तिनले याहवेहको मन्दिर निर्माण गर्न सुरु गरे। यो कार्य इस्राएलीहरू इजिप्टबाट निस्किआएको चार सय असी वर्षमा भएको थियो।

2याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो।

3मन्दिरको सामुको मुख्य कोठाको दलान मन्दिरको चौडाइ बराबरको, लगभग बीस क्यूबिट थियो अनि मन्दिरको अगाडिबाट दश क्यूबिट बाहिर निस्केको थियो।

4तिनले मन्दिरका भित्ताहरूमा आँखीझ्यालहरू बनाए।

5तिनले भवनको मुख्य कोठा र भित्री पवित्रस्थानको भित्तामा जोडिने गरी भवनको वरिपरि एउटा संरचना बनाए। जसका छेउ-छेउमा कोठाहरू थिए।

6यो भवन तीन तले थियो। सबैभन्दा तल्‍लो तला पाँच क्यूबिट चौडा, बीचको तला छ क्यूबिट चौडा, र तेस्रो तला सात क्यूबिट चौडा थियो। मन्दिरका भित्ताहरूमा केही पनि छेड्न नपरोस् भनेर तिनले मन्दिरको बाहिर चारैतिर पालीहरू बनाए।

7मन्दिर बनाउँदा खानीमा कुँदिएका ठूला ढुङ्गाहरू प्रयोग गरिए। मन्दिर बनिँदै गर्दा त्यस ठाउँमा कुनै घन, छिनो अथवा कुनै फलामको औजारको आवाज सुनिएन।

8भुइँतलाको प्रवेशद्वार मन्दिरको दक्षिणतिर थियो। त्यसबाट बीचको तलामा र त्यहाँबाट तेस्रो तलामा जानलाई घुमेको भर्‍याङ बनाइएको थियो।

9यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए।

10तिनले मन्दिरको वरिपरि कोठाहरू बनाए। प्रत्येकको उचाइ पाँच क्यूबिट थियो, र तिनीहरू देवदारुका काठले मन्दिरसित जोडिएका थिए।

11त्यसपछि याहवेहको वचन सोलोमनकहाँ आयो:

12“तैँले बनाइरहेको यस भवनको विषयमा चाहिँ यसो हुनेछ, यदि तैँले मेरा आदेशहरूअनुसार मेरा आज्ञाहरू र नियमहरू पालन गरिस् अनि आज्ञाकारी भइस् भने म तेरा पिता दावीदलाई गरेको प्रतिज्ञा तँद्वारा पूरा गर्नेछु।

13अनि म इस्राएलीहरूका बीचमा बास गर्नेछु र आफ्नो जाति इस्राएललाई त्याग्नेछैनँ।”

14अब यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए।

15तिनले त्यसका भित्री भित्ताहरूमा भुइँदेखि छानासम्मै देवदारुका काठहरू लगाए। मन्दिरको भुइँचाहिँ सल्‍लाका फल्याकहरूले ढाकिदिए।

16तिनले भवनको पछिल्‍लो भागपट्टि बीस क्यूबिट छुट्याएर भुइँदेखि छानासम्मै देवदारुका फल्याकहरूले बारे। अनि त्यस भवनको भित्रपट्टि भित्री पवित्रस्थान, लगभग महा-पवित्रस्थान बनाए।

17त्यस कोठाको सामुको मुख्य कोठा चालीस क्यूबिट लामो थियो।

18मन्दिरको भित्री भागचाहिँ देवदारुको काठमा बेलबुट्टा र फक्रेका फूलका आकारहरू कुँदेर बनाइएका थिए। सबै कुरामा देवदारु नै थिए; कुनैमा पनि ढुङ्गा देखिँदैनथ्यो।

19तिनले याहवेहको करारको सन्दुक राख्नको निम्ति मन्दिर भित्रपट्टि पवित्रस्थान तयार पारे।

20त्यो भित्री पवित्रस्थान बीस क्यूबिट लम्बाइ, बीस क्यूबिट चौडाइ, र बीस क्यूबिट उचाइ भएको थियो। तिनले भित्री भागलाई सुनले मोहोरे, र देवदारुको वेदीलाई पनि सुनले मोहोरे।

21सोलोमनले मन्दिरको भित्री भागलाई निखुर सुनले ढाकिदिए। अनि सुनले मोहोरेको भित्री पवित्रस्थानको अगाडि सुनका सिक्रीहरू टाँगे।

22यसरी तिनले सम्पूर्ण भित्री भागलाई सुनले मोहोरे। तिनले भित्री पवित्रस्थानको वेदीलाई पनि सुनले मोहोरे।

23तिनले भित्री पवित्रस्थानमा जैतुनको काठका दश क्यूबिट अग्ला दुई वटा करूबहरू बनाए।

24पहिलो करूबको पहिलो पखेटा पाँच क्यूबिट लामो र अर्को पखेटा पनि पाँचै क्यूबिट लामो थियो, अर्थात् एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दश क्यूबिट थियो।

25दोस्रो करूबको नाप पनि दश क्यूबिट नै थियो। किनकि दुवै करूबहरूको नाप र आकार उस्तै थियो।

26प्रत्येक करूबको उचाइ दश क्यूबिट थियो।

27तिनले करूबहरूलाई मन्दिरको सबैभन्दा भित्री कोठामा तिनीहरूका पखेटा फैलिएको अवस्थामा राखिदिए। एउटा करूबको पखेटाले एउटा भित्तालाई छोएको थियो भने अर्कोको पखेटाले अर्को भित्तालाई छोएको थियो। अनि तिनीहरूका पखेटाहरूले कोठाको बीचमा एक-अर्कालाई छोएका थिए।

28तिनले करूबहरूलाई सुनले मोहोरे।

29मन्दिरका भित्री र बाहिरी कोठाहरूका चारैतिरका भित्ताहरूमा तिनले करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे।

30तिनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले ढाकिदिए।

31भित्री पवित्रस्थानका प्रवेशद्वारका निम्ति तिनले पाँचकुने खापा भएका जैतुनको काठका दुई ढोकाहरू बनाए।

32अनि जैतुनको काठका दुई ढोकाहरूमा करूबहरू र खजूरका रूखहरू अनि फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि करूबहरू र खजूरका रूखहरूलाई सुन पिटेर मोहोरे।

33त्यही प्रकारले तिनले मुख्य कोठाको प्रवेशद्वारका निम्ति जैतुनको काठका चारकुने चौखट बनाए।

34तिनले सल्‍लाको काठबाट दुई वटा ढोकाहरू बनाए; प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। अनि ढोका खोल्दा ती खापाहरू एक-अर्कामा खप्टिन्थे।

35तिनले तिनीहरूमाथि करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि ती बुट्टाहरूमाथि एकैनासले सुन पिटेर मोहोरे।

36तिनले काटेका ढुङ्गाका तीन लहर र छाँटेका देवदारुका काठका एक लहरबाट भित्री चोक बनाए।

37याहवेहको भवनको जग चौथो वर्षको जीव महिनामा बसालियो।

38एघारौँ वर्षको आठौँ महिना, अर्थात् बूल महिनामा त्यसको हरेक भाग त्यसकै नमुनाअनुसार मन्दिर बनाइसिद्ध्याइयो। यसरी त्यस भवनलाई बनाउन तिनलाई सात वर्ष लाग्यो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath