ईसाई धर्म
पछाडि

1राजाहरू 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए।

2सोलोमनले हीरामलाई यो सन्देश पठाए:

3“मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्‍वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्‍ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन।

4तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन।

5यसकारण याहवेह मेरा परमेश्‍वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्‍नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु।

6“यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।”

7जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्‍न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”

8यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। अनि देवदारु र सल्‍लाका काठ दिने विषयमा म तपाईंले भन्‍नुभएझैँ सबै कुरा गर्नेछु।

9मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्‍नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।”

10यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू दिइरहे।

11सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।

12याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे।

13राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए।

14राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।

15सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए।

16साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।

17राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले।

18सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath