ईसाई धर्म
पछाडि

1राजाहरू 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए।

2तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू।

3याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्।

4तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्‍वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्‍ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।

5“सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्‍यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्‍यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो।

6त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्।

7“तर गिलादमा हुने बर्जिल्‍लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए।

8“यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ।

9तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।”

10तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए।

11तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा।

12यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो।

13एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।”

14तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्‍नु छ।” तिनले जवाफ दिइन्, “अँ, भन!”

15तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्‍नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो।

16अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।” तिनले भनिन्, “अँ, भन न।”

17यसकारण तिनले भन्‍न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”

18बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।”

19जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।

20तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!” राजाले जवाफ दिए, “भन्‍नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।”

21यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।”

22तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!”

23तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्‍वरले मसित कठोर व्यवहार गरून्!

24यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!”

25यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो।

26तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्‍टमा साथ दिनुभएको थियो।”

27यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्‍नुभएको कुरा पूरा गरे।

28जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते।

29योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए।

30यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्‍नुहुन्छ, ‘बाहिर आऊ!’ ” तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।” बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए।

31तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ।

32याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए।

33तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।”

34यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए।

35राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए।

36त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू।

37किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।”

38शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्‍नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्‍नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे।

39तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।”

40यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए।

41जब सोलोमनलाई शिमी यरूशलेमबाट गातमा गएर फर्केको कुरा बताइयो,

42तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्‍चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्‍नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ।

43तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?”

44राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ।

45तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”

46तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे। यसरी राज्य सोलोमनको हातमा स्थापित भयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath