ईसाई धर्म
पछाडि

1राजाहरू 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1केही समय बितेपछि यिजरेली नाबोतको दाखबारीको विषयलाई लिएर एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलको छेउमा थियो।

2आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”

3तर नाबोतले जवाफ दिए, “आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन सक्दिनँ। याहवेहले यसो हुन नदेऊन्।”

4यिजरेली नाबोतले “म आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिनेछैनँ” भनेको सुनेर आहाब उदास र क्रोधित भएर घर गए। तिनी खिन्‍न भई आफ्नो ओछ्यानमा ढल्किरहे, र केही पनि खाएनन्।

5तिनकी पत्नी ईजेबेलले भित्र आएर तिनलाई सोधिन्, “तपाईं किन उदास हुनुहुन्छ? तपाईं किन केही खानुहुन्‍न?”

6तिनले उनलाई जवाफ दिए, “किनकि मैले यिजरेली नाबोतलाई भनेँ, ‘मलाई तिम्रो दाखबारी बेच, अथवा यदि तिमी चाहन्छौ भने त्यसको सट्टामा म अर्को दाखबारी दिनेछु।’ तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिन्‍नँ।’ ”

7तिनकी पत्नी ईजेबेलले भनिन्, “के तपाईंले इस्राएलमा यसरी नै राजा भएर काम गर्नुहुन्छ? उठेर खानुहोस्। प्रसन्‍न रहनुहोस्। म तपाईंलाई यिजरेली नाबोतको दाखबारी दिलाउनेछु।”

8यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्‍ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्।

9ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्: “उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू।

10तर त्यसको सामु दुई जना दुष्‍ट व्यक्तिहरूलाई बसाउनू। अनि त्यसले परमेश्‍वर र राजा दुवैलाई सरापेको छ भनी तिनीहरूलाई साक्षी दिन लगाउनू। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार्नू।”

11यसकारण नाबोतको सहरमा बस्‍ने ती प्रधानहरू र भारदारहरूले ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा हुकुम दिएअनुसार गरे।

12तिनीहरूले उपवासको दिन घोषणा गरे; अनि नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा बसाए।

13तब दुई नीच व्यक्तिहरू आएर त्यसका सामु बसे; अनि “नाबोतले परमेश्‍वर र राजा दुवैलाई सरापेको छ” भनेर नाबोतको विरुद्धमा अभियोग लगाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।

14तब तिनीहरूले ईजेबेलकहाँ यसो भनी खबर पठाइदिए, “नाबोतलाई ढुङ्गाले हानेर मारियो।”

15नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्‍ने ईजेबेलले सुन्‍नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।”

16जब आहाबले नाबोत मरेको सुने, तब तिनी उठेर यिजरेली नाबोतको दाखबारीमाथि अधिकार गर्न गए।

17तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो:

18“सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ।

19त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ”

20आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?” तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो।

21तिनले भने, ‘अब म तपाईंमाथि विपत्ति ल्याउनेछु। म तपाईंका सन्तानहरूलाई भस्म पार्नेछु र कमारा होस् कि फुक्‍का, आहाबका प्रत्येक पुरुषलाई नाश गर्नेछु।

22म तपाईंका घरानालाई नबातका छोरा यारोबाम र बाशाका छोरा अहीयाहको जस्तै बनाउनेछु। किनकि तपाईंले मलाई रिस उठाउनुभयो र इस्राएललाई पाप गर्न लगाउनुभयो।’

23“ईजेबेलको विषयमा पनि याहवेह भन्‍नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’

24“आहाबका जति जना सहरमा मर्छन्, तिनीहरूलाई कुकुरहरूले खानेछन्, र गाउँमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।”

25(आहाबजस्तो आफ्नी पत्नी ईजेबेलद्वारा उक्साइएर याहवेहको दृष्‍टिमा दुष्‍टता गर्न आफैँलाई बेच्ने अर्को मानिस कहिल्यै कोही थिएन।

26एमोरीहरूलेझैँ आहाबले मूर्तिहरूको पछि लागेर तिनले अति नै नीच काम गरे। ती एमोरीहरूलाई याहवेहले इस्राएलीहरूका सामुबाट धपाउनुभएको थियो।)

27यो कुरा सुनेपछि आहाबले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लगाए, र उपवास बसे। तिनी भाङ्ग्रा लगाएरै सुते, र उदास भई हिँडे।

28तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो,

29“आहाबले आफूलाई मेरो सामु विनम्र तुल्याएको के तैँले ध्यान दिइस्? त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउनेछैनँ, तर त्यसको छोराको समयमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath