ईसाई धर्म
पछाडि

1राजाहरू 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब अरामका राजा बेन-हददले आफ्नो सम्पूर्ण फौजलाई भेला गरे। बत्तीस जना राजाहरू, तिनीहरूका घोडाहरू र रथहरूलाई साथमा लिएर अगि बढे; अनि तिनले सामरियालाई घेरा हालेर त्यसमाथि आक्रमण गरे।

2तिनले इस्राएलका राजा आहाबकहाँ यसो भनेर दूतहरू पठाए, “बेन-हदद यसो भन्छन्:

3‘तिम्रा सुन र चाँदीहरू मेरा हुन्; अनि तिम्रा सबैभन्दा असल पत्नीहरू र छोराछोरीहरू मेरै हुन्।’ ”

4इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्‍नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”

5दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु।

6भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’ ”

7इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”

8तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्‍नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”

9यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’ ” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्‍याइदिए।

10तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”

11इस्राएलका राजाले जवाफ दिए, “तिनलाई यसो भन्‍नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’ ”

12जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।

13त्यसपछि एक जना अगमवक्ता आहाब राजाकहाँ आएर घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के तँ यो विशाल फौज देख्दैछस्? म यसलाई आज तेरो हातमा दिनेछु, र तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”

14आहाबले सोधे, “तर यो कसले गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “याहवेह यसो भन्‍नुहुन्छ: ‘तेरा प्रान्तिय सेनापतिहरूका जवान अधिकारीहरूले गर्नेछन्।’ ” तिनले सोधे, “अनि लडाइँ कसले सुरु गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “तपाईंले।”

15यसकारण आहाबले प्रान्तका सेनापतिहरूका 232 जना जवान अधिकारीहरूलाई बोलाउन पठाए। त्यसपछि तिनले बाँकी रहेका 7,000 इस्राएलीहरूलाई भेला गराए।

16तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए।

17प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के। बेन-हददले जासुसहरू पठाएका थिए, जसले यस्तो खबर ल्याए, “मानिसहरू सामरियाबाट यतातिर बढिरहेका छन्।”

18तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”

19प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के।

20अनि प्रत्येकले आफ्नो शत्रुलाई मारे। यसरी अरामीहरू भागे; र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोडामा चढेर आफ्ना केही घोडसवारहरूसित उम्किए।

21इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।

22पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”

23त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्‍लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्‍यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।

24यसो गर्नुहोस्: सबै राजाहरूलाई हटाएर तिनीहरूका ठाउँमा अरू अधिकारीहरूलाई खटाउनुहोस्।

25तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्‍चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।

26आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए।

27इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।

28एक जना परमेश्‍वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”

29सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे।

30तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।

31तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”

32तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’ ” राजाले जवाफ दिए, “के तिनी जीवितै छन्? तिनी त मेरा भाइ हुन्।”

33ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्‍ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!” तब राजाले भने, “गएर तिनलाई ल्याओ।” जब बेन-हदद निस्केर आए, तब राजाले तिनलाई आफ्नो रथमा चढाए।

34बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।” आहाबले भने, “म एउटा सन्धिको आधारमा तपाईंलाई छोडिदिनेछु।” यसकारण तिनले उनीसित एउटा सन्धि गरे, र उनलाई जान दिए।

35याहवेहको वचनअनुसार अगमवक्ताहरूका छोराहरूमध्ये एक जनाले आफ्ना साथीलाई भने, “मलाई तिम्रो हतियारले प्रहार गर,” तर त्यस मानिसले अस्वीकार गर्‍यो।

36यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्‍कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्‍यो।

37ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए।

38त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे।

39जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट चाँदी तिर्नुपर्नेछ।’

40तपाईंको सेवक यताउता व्यस्त हुँदा त्यो मानिस हराइहाल्यो।” तब इस्राएलका राजाले भने, “तँ आफैँले तेरो न्यायको निर्णय गरिस्।”

41ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने।

42तिनले राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्‍चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’ ”

43यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath